मेगा बैंकमार्फत दक्षिण कोरियाबाट रकम पठाउन सजिलो

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र दक्षिण कोरियाको कोइनसट रेमिट्यान्स कम्पनीबीच रेमिट्यान्स कारोबारसम्बन्धी सम्झौता भएको छ ।

मेगा बैंकले ‘मेगारेमिट’ को सञ्जाल विश्वका विभिन्न देशमा विस्तार गर्ने क्रममा दक्षिण कोरियामा लोकप्रिय रहेको कोइनसट कम्पनीसँग सम्झौता गरेको हो । कोइनसटसँग रेमिट्यान्स सम्झौता गर्ने मेगा नेपालको पहिलो वाणिज्य बैंक हो ।

सम्झौताले दक्षिण कोरियामा रहेका नेपालीले मेगा बैंकका देशभरका १ सय २ वटा शाखा र अन्य बैंकमा रहेको खातामा मेगामार्फत रकम जम्मा गर्न सक्नेछन् । मेगा बैंकका देशभर छरिएका २ हजार ३ सय भन्दा बढी मेगा रेमिट एजेन्टमार्फत सहजै रकम भुक्तानी लिने व्यवस्था पनि मिलाइएको छ ।

मेगा बैंकले दक्षिण कोरियामा रहेका नेपालीलाई खाता खोल्न सजिलो होस् भन्ने उद्देश्यले ‘मेगा मातृभूमि बचत खाता’ को व्यवस्था गरिएको बैंकले जनाएको छ । दक्षिण कोरियामा रहेका मेगा बैंकका प्रतिनिधिमार्फत शून्य मौज्दातमै खोल्न सकिने खातामा बैंकले बिभिन्न सुविधा दिएको छ ।

जसमा ६.५ प्रतिशत त्रैमासिक ब्याज पाइन्छ भने मोबाइल बैंकिङ, अनलाइन बैंकिङ, बैंक स्टेटमेन्ट लगायतका सुविधा निःशुल्क गरिएको छ । भिसा डेबिट कार्डमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने आवास कर्जा र सवारी साधन कर्जामा पनि विशेष छुटको व्यवस्था बैंकले गरेको छ । सीआस्बा सुविधा र आईपिएस सुविधा पनि उपलब्ध रहेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।