सुख्खा मौसमका कारण श्रीलङ्कामा ५० हजार प्रभावित

बर्षा नहुँदा पानीको अभाव

कोलम्बो । श्रीलङ्कामा केही दिन देखिको सुख्खा मौसमका कारण ५० हजार मानिस प्रभावित भएका छन् ।
देशको प्रकोप व्यवस्थापन केन्द्रले दिएको जानकारी अनुसार पहाडी मुलुक श्रीलङ्कामा केहीदिनदेखि सुख्खा मौसम रहेको छ ।
सवैभन्दा धेरै भाभुनिया र जफ्नाको उत्तरी भाग, पुट्टालाम, केगाल्ले, माटालेलगायतका ठाँउ प्रभावित भएको अधिकारीहरुले जनाएका छन् ।

विषेश गरेर पहाडी क्षेत्रमा लामो समयदेखि बर्षा नहुँदा पानीको अभाव हुन थालेकोले जनजीवन प्रभावित भएको उनीहरुको भनाइ छ ।

प्रकोप व्यवस्थापन केन्द्रका उप निर्देशक प्रदिप कोडिप्पीलीले सुख्खाबाट प्रभावित क्षेत्रमा बस्नेहरुका लागि पानी वितरण गर्ने उपकरणहरु पठाइएको जानकारी दिए । प्रभावित क्षेत्रका बासिन्दालाई यस्तै मौसम रहेसम्म घरभित्रै बस्न र विषेश ख्याल गर्न आग्रह गरिएको पनि उनले बताए ।

मौसम विभागले दिएको पछिल्लो विवरण अनुसार अहिले सुख्खापना थप बढ्दै गएको छ । आगामी केही दिन अझै सुख्खा हुने देखिएको विभागको अनुमान छ । त्यस क्षेत्रको तापक्रम ४१ डिग्रि सेल्सीयस पुग्ने मौसम अधिकारीहरुले अनुमान गरेका छन् ।