जोसेफको कीर्तिमानी बलिङमा मुम्बई विजयी

एजेन्सी । वेस्ट इन्डिजका युवा बलर अल्जारी जोसेफले इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमै कीर्तिमानी बलिङ गरेपछि मुम्बई इन्डीयन्सले सनराइजर्स हैदराबादलाई ४० रनले पराजित गरेको छ । आईपीएलमा डेब्यु गरिरहेका जोसेफले ३।४ ओभरमा मात्र १२ रन खर्चदै ६ विकेट लिए ।

मुम्बईले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको हैदरावाद १७.४ ओभरमा मात्र ९६ रन समेटियो । हैदरावादका लागि दिपक होडाले सर्वाधिक २० रन जोडे । जोनी बैयर्सट्रो र मनिस पाण्डेले समान १६–१६, डेभिड वार्नरले १५ र मोहमद नाबीले ११ रन जोडे ।

हैदरावादलाई सस्तैमा समेट्न डेब्यु खेलाडी अल्जारी जोसेफ एक्लैले ६ विकेट लिए । कीर्तिमानी प्रदर्शन गरेका जोसेफले ३.४ ओभरमा एक मेडनसहित मात्र १२ खर्चिएर ६ विकेट लिए । यसअघि सन् २००८ मा सोहिल तानबिरले १४ रन खर्चिएर ६ विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले अविजित ४६ रन बनाए । यस्तै क्विन्टन डी ककले १९ रन जोड्दा इशान किशनले १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए । कप्तान रोहित शर्मा ११ रनमा आउट भए । हैदरावादका सिद्दार्थ काउलले २ विकेट लिए ।