हवाई आक्रमणमा पाँच विद्यार्थीको मृत्यु, ३४ घाइते

यमन । यमनमा सोमबार भएको हवाई आक्रमणमा एक विद्यालयका पाँच छात्राको मृत्यु भएको छ । उक्त घटनाबारे आएका प्रारम्भिक समाचारहरूमा यहाँका सञ्चारमाध्यमले पाँच जनाको मृत्यु भएको र अन्य ३४ जना घाइते भएका सुरक्षा अधिकारीलाई उद्धृत गरी उल्लेख गरेका छन् ।

राजधानी सानामा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले गरेको हवाइ आक्रमण मेटल वर्कसपमा भएको भएपनि नजिकै रहेको विद्यालयमा अध्ययनरत विद्यार्थीको आक्रमणबाट मृत्यु भएको हो । घाइतेमध्ये केही विद्यालयका बालबालिका पनि रहेका स्वास्थ्य अधिकारी तथा प्रत्यक्षदर्शी स्थानीय वासिन्दाले जनाए ।

राजधानी सानाको पूर्वी भाग सावान क्षेत्र नजिकै दुई शक्तिशाली विष्फोटक पदार्थ पड्केको आवाज सुनेको लगत्तै धुवाको ठूलो मुस्लो जमिनबाट आकासमा निस्केको स्थानीय अलि अहसानले सिन्ह्वा न्यूज एजेन्सीलाई जानकारी दिएको उल्लेख छ । विद्रोही नियन्त्रीत स्वास्थ्य मन्त्रालयका प्रवक्ता यूसिफ अल–हाद्रीले घटनामा पाँच जनाको मृत्यु भएको र ३४ जना घाइते भएको पुष्टि गर्नुभयो।