सुत्केरी श्रीमतीमाथि निर्घात कुटपिट, टाउकोमा ३१ टाँका

काठमाडाैं । फलेवास नगरपालिका–२ थापाठाना खनारका ३० वर्षीय मदन नेपालीले ३३ वर्षीया श्रीमती मुना नेपालीलाई निर्घात कुटपिट गरेका छन् । आइतबार बिहान सुत्केरी भएकी मुनालाई राति ९ बजेतिर मदनले चिर्पट प्रहार गरेका थिए । चिर्पट प्रहारबाट मुनाको टाउकोमा गहिरो चोट लागेको छ ।मुनालाई छिमेकीको सहयोगमा राति नै जिल्ला अस्पताल लगिएको थियो ।

थप उपचारका लागि उनलाई सोमबार दिउँसो पोखरा लगिएको छ । उनको टाउकोमा ३१ टाका लगाइएको उपचारमा संलग्न स्वास्थ्यकर्मी जानकी शर्माले बताइन् । ‘टाउकोमा गहिरो घाउ छ । सिटिस्क्यानका लागि पोखरा पठाइएको हो,’ उनले भनिन् । पर्वत जिल्ला अस्पतालमा सिटिस्क्यान सेवा नभएकाले पोखरा पठाइएको उनले बताइन् ।

मदनले रक्सीको सुरमा सुत्केरी श्रीमती माथि हातपात गरेका हुन् । रक्सीले मातेर राति घर आएका र एक्कासि हातपात गरेको मुनाले बताइन् । ‘कुटपिट त अरू वेला पनि गर्थे, सुत्केरी भएकै अवस्थामा त्यसो गर्लान् भन्ने सोचेकी थिइन् । तर, शिशु लिएर बसेकै अवस्थामा चिर्पटले टाउकोमा हाने,’ उनले रुँदै भनिन् । कुटपिट हुँदा घरमा अरू कोही नभएको उनले बताइन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।