आईटिमा अब्बल बन्दै अल्ट्राबाइट

काठमाडौं । पछिल्लो समय नेपाली युवापुस्ता पढेलेखेर भविश्य खोज्न स्वदेशभन्दा विदेशतिर आकर्षित हुनु  चलनजस्तै बनेको छ । पढेलेखेर योग्य बनेको युवाले स्वदेशमै स्वरोजगार गरेको वा  रोजगारमुलक योजना बुनेको कमै देखिन्छ ।

पढ्दा पढ्दै अमेरिका, अस्ट्रेलिया भासिने र उतै सेटल हुने चलन बढ्दो छ । त्यो  भीडमा पनि केही युवा छन् जो स्वदेशमै केही गरौँ र गरिरहेकालाई पनि उत्साहित बनाउँ भन्ने भावना भएका । त्यस्तै भावना भएका मध्ये हुन झापाका युवा अमर भट्टराई ।

आईटी क्षेत्रमा अब्बल क्षमता भएका उनका अगाडि विदेश पुग्ने हो भने अनेकन सम्भावना थिए । तर उनले त्यो सम्भावनालाई व्यक्तिगत लाभमा मात्रै जोडेर हेरेनन् । आफ्नो क्षमतालाई स्वदेशमा व्यापार, व्यवसाय गरिरहेका व्यवसायीको हितमा प्रयोग गरेर आफू पनि अगाडि बढ्ने अठोट उनले गरे ।

‘आफू बन्न अरुलाई पनि बनाउनुपर्छ भन्ने लाग्यो,’ अमरले भने, ‘मैले मेरो पेशा गर्दा अरुको व्यवसायको हितलाई सँगै जोडेर हेरेँ ।’ उनले त्यसका लागि सन २०१४ मा अल्ट्राबाइट इन्टरनेशनल प्रालि स्थापना गरे । त्यसमार्फत उनले हालसम्म करिब ४ सयवटा वेबसाइट, सफ्टवेर, एपहरु निर्माण गरिसकेका छन् ।

‘लामोसमयसम्म व्यापार व्यवसाय गरेका उद्यमीहरु आम रुपमा स्थापित हुन सकिरहनुभएको थिएन,’ अमरले भने, ‘यो पाँच वर्षमा हामीले उहाँहरुलाई आईटीसँग जोड्ने काम गर्यौँ, अहिले उहाँहरुको परिचय मात्रै झाँगिएको छैन, व्यापार, बिजनेश पनि फैलिँदै गएको छ ।’

अल्ट्राबाइट इन्टरनेशनल प्रालिका संचालक भट्टराईले आईटीका क्षेत्र आफूसँगै करिब एक दर्जन युवा जनशक्तिलाई सँगै हिडाएका छन् ।

एक युवाले दर्जन व्यक्तिलाई रोजगार मात्रै दिएको छैन, उनले लेखन र अध्ययनमा लागेका वर्गको सम्मानका लागि नयाँ प्रडक्ट पनि लन्च गरेका छन् । अल्ट्राबाइटको भगिनी संस्थाका रुपमा उनले पेजअटर डटकम www.pageutter.com संचालनमा ल्याएका छन् ।

नयाँ सोच, शैली र मान्यता सहित ल्याइएको यो वेभसाइट लेखकहरुको सम्मान र नयाँ खोजका लागि स्थापना गरिएको उनले बताए । पेजअटरमा आफ्ना लेख, कला र रचना लेखक आफैले प्रकाशन गर्ने सुविधा प्रदान गरिएको छ ।

रचना प्रकाशित हुनु अघि नै पाठकका सुझाव, सल्लाह र थप अनुसन्धानलाई त्यसमा समावेश गर्ने सुविधासहितको यो वेभसाइट नेपाली बजारमा नयाँ हुनसक्ने दावी भट्टराइको छ । नेपाली साहित्य र खोजअनुसन्धानमा रुची राख्नेमाझ यो लोकप्रिय बन्दै गएको छ ।