कम्युनिस्टहरू टुँडिखेल समेत कब्जा गर्न लागेका छन्, नेवि संघलाई पिंजडाको सुगा बनाइयोः महर

काठमाडौं । नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महरले कम्युनिस्टहरु सत्तामा पुगेर अकुत सम्पत्ति कमाए पनि त्यसले नपुगेर नेता, कार्यकर्ताको नाममा टुँडिखेल नामसारी गर्ने मिसनमा लागेको आरोप लगाए ।

उनले वर्तमान कम्युनिस्ट सरकार बालुवाटारमात्रै होइन टुँडिखेल समेत आफ्ना नेता कार्यकर्ताको नाममा नामसारी गर्ने दाउमा लागेको दाबी गरे ।

कैलालीमा आयोजित एक कार्यक्रममा बोल्दै महरले नेकपाका महासचिव विष्णु पौडेलले बालुटारको जग्गा मात्रै आफ्नो नाममा पास गरेनन्, जग्गा माफियासँग मिलेर करोडौँ रुपैयाँ अवैध काम गरे बापत नेकपा पार्टीलाई बुझाएको तथ्य बाहिर आएको बताए ।

‘यो घटनाले नेकपा र कम्युनिष्ट सरकार नै संस्थागत भ्रष्टाचारमा लिप्त भएको ठोकुवा गर्न सकिन्छ’, उनले भने, ‘कम्युनिष्टहरुको समाजवाद र कम्युनिज्मको अर्को पाटो उदांगो भएको छ  ।’

महरले शैक्षिक माफियादेखि जग्गाका दलालका माफियासम्मलाई केपी ओली नेतृत्वको कम्युनिस्ट सरकारको संरक्षणमा भएको ठोकुवा पनि   गरे ।

उनले यसको भण्डाफोर गर्न देशभरका युवा विद्यार्थी आन्दोलित हुनुपर्ने समय आएको बताए । एक अर्को प्रसंगमा नेता महरले नेपाल विद्यार्थी संघलाई पार्टीले ‘पिंजडाको सुगा’ बनाएको बताए ।

उनले फरक प्रशंगमा  भने, ‘मेरो नेतृत्वमा निर्वाचन गरेर मैले जिम्मेवारी हस्तान्तरण गर्न खोजेँ, केही नेताले आफ्नो स्वार्थ मिल्ने देखेनन्, मलाई नै हुत्याउन खोजे, मैले राजीनामा दिएर पार्टीका लागि मार्गप्रसस्त गरिदिएँ, तर आज केही नेताले देशमा आवश्यक परेका बेला काँग्रेसको युवाशक्तिलाई रुमल्याएर राखेका छन् ।’