निजी स्कुल सरकारीमा मर्ज

पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिकामा रहेका बोर्डिङ स्कुलहरूलाई सरकारीमा मर्ज गरिएको छ। गाउँपालिकाले आफ्नो क्षेत्राधिकारभित्र सञ्चालनमा रहेका पाँचवटा निजी विद्यालयलाई सामुदायिकमा गाभेको हो। निजी स्कुलले चर्को शुल्क असुलिरहेका बेला पूर्वखोला गाउँपालिकाले यस्तो निर्णय गरेको हो। यो निर्णयबाट अभिभावक खुसी भएका छन्।

गाउँपालिकाले शिक्षामा रहेको विभेद हटाउन निजीलाई सरकारीमा मर्ज गरेको जनाएको छ। गाउँपालिकाका सूचना अधिकारी मोहन ढकालका अनुसार रिङ्नेरहस्थित पूर्वखोला बोर्डिङ स्कुल सामुदायिक विद्यालय उद्धबुद्ध माध्यमिक विद्यालयमा, वीरकोटस्थित जोनन बोर्डिङ स्कुल गणपति माविमा, जल्पामा रहेको सरस्वती बोर्डिङ् स्कुल सरस्वती माविमा, जल्पामै रहेको माउन्ट भ्यू बार्डिङ स्कुल शम्भु माविमा र देवीनगरमा रहेको चिराग बोर्डिङ स्कुल मातृभूमि माविमा गाभिएका छन्। गाभिएका ती पाँचवटा मात्रै बोर्डिङ स्कुलमा कक्षा ५ सम्म अध्ययन हुँदै आएको थियो। अब सरकारी विद्यालयमा अंग्रेजी माध्यममा पढाइने ढकालले बताए। नागरिक दैनिकले यो  समाचार प्रकाशित गरेको छ ।