राणाको बैठक कोठाको मार्बलबाट शहीद गेट

काठमाडौं । शहीद गेटमा प्रयोग गरिएका सिङ्गमरमर (मार्बल) राणाको बैठक कोठाबाट उप्काएर ल्याइएका हुन् । इन्जिनियरद्वारा तयार गरिएको सुरु नक्सामा शहीद गेटमा मार्बलबारे उल्लेख नै थिएन । निर्माण गर्दै जाँदा इन्जिनियरहरूले “फिनिसिङ राम्रो गर्नुपर्‍यो, आकर्षक देखाउन मार्बल टाँस्नुपर्ने भयो” भनेपछि तत्कालीन राजा महेन्द्रले “हुन्छ” भन्नुभयो र सिङ्गमरमर टाँस्ने योजना बन्यो । तत्कालै मार्बल ल्याउनुपर्ने भयो । बजेट पनि कमै थियो । सस्तो मार्बल खोज्ने क्रममा कुनै राणाजीको दरबारको बैठक कक्षमा रहेको मार्बल उपलब्ध हुनसक्यो र प्रयोग भइसकेका तिनै पुराना मार्बल ल्याई टाँसियो ।

“सस्तो मार्बल खोज्दै थियौँ । ब्रोकरले सस्तोमा मार्बल उपलब्ध गराइदिने भने । हामीले हुन्छ भन्यौँ” शहीद गेटका डिजाइनर (इन्जिनियर) शङ्करनाथ रिमालले त्यस बखतको घटना स्मरण गर्नुभयो, “ती ब्रोकरले राणाको दरबारबाट उप्काएर ल्याइएको हो भने । हामीले पनि कुन राणाको हो भनेर सोधीखोजी गरेनौँ ।”

तिनताका काठमाडौंको जग्गाको भाउ खासै थिएन । सरकारले सम्पत्तिमा तीन प्रतिशत कर लगाइदिएको थियो । करका कारण कतिपय राणालाई जीविकोपार्जन गर्न समस्या पर्दै गएको पनि थियो । “करले राणाजीहरूलाई आर्थिक समस्या पर्न थाल्यो । जग्गाको खासै भाउ थिएन । त्यसैले उनीहरूले बैठकका मार्बल, फर्निचर आदि बेच्न थाले” उहाँले थप्नुभयो, “उनीहरूले सस्तोमा मार्बल बिक्री गर्दा त्यसले काम दियो ।” सो मार्बल ललितपुरको गोदावरीमा उत्पादन भएको हो ।

सानो टुँडिखेल (हालको दशरथ रङ्गशाला)मा आयोजना भइरहेको प्रदर्शनीमा तत्कालीन राजा महेन्द्रसँग परिचय भएपछि त्यसबखत २४ वर्षका इन्जिनियर शङ्करनाथलाई राजा महेन्द्रले ‘म दरबारमा बोलाउँला’ भन्नुभयो । एक दिन त बोलावट आइहाल्यो । दुई नम्बर बङ्गलाको माथि पाल टाँगिएको थियो । सुरक्षागार्डले छाता ओढाएर तत्कालीन राजा महेन्द्रका सामु उहाँलाई लिएर गए । उहाँले त्यस दिनको यसरी स्मरण गर्नुभयो, “राजा महेन्द्रले ‘फलानो ठाउँमा नेपाल स्मारक बनाउ,२५ हजार रुपियाँ दिउँला । त्यतिमा पुग्ने गरी नक्सा तयार गर’ भनेपछि मैले त्यही अनुसारको सानो आकारको द्वारको डिजाइन गरे ।” उहाँले नौवटा डिजाइन तयार गर्नुभएकोमा हाल रहेको शहीद गेटको नक्सालाई राजा महेन्द्रले उपयुक्त ठहर्‍याउनुभएको थियो । आजको गाेरखापत्र दैनिकमा खबर छ ।