१९ बालबालिकाको उद्धार

काठमाडाैं । गैरकानुनी रूपमा सञ्चालित बूढानीलकण्ठ–८ गोल्फुटारस्थित न्यू कर्णाली होस्टेल नामको बालगृहबाट १९ बालबालिकाको उद्धार गरिएको छ । बालगृह सञ्चालक बेपत्ता भएपछि प्रहरी र केन्द्रीय बालकल्याण समितिको टोलीले बालबालिकाको उद्धार गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगन्जका अनुसार बालगृहमा चार बालिका र १५ जना बालक आश्रित थिए । जसमध्ये कालिकोटका १४, हुम्लाका तीन, डोल्पा र बाँकेका एक–एक बालकालिका छन् । उद्धार गरिएका अधिकांश बालबालिका दलित समुदायका छन् ।

उनीहरूको आर्थिक अवस्था कमजोर रहेको प्रहरीको भनाइ छ । उद्धारपछि १२ लाई काँडाघारीस्थित साझा मञ्च र सातजना बालबालिकालाई बालुवाटारस्थित हिमाली नवीन समाज नामको बालगृहमा लगिएको छ । बालगृह एक वर्षदेखि सञ्चालनमा रहेको भए पनि दर्ता नगरिएको वृत्त प्रमुख डिएसपी फणिन्द्रप्रसाईंले बताए । ‘१९ बालबालिकालाई अवैध रूपमा राखिएको भेटियो,’ प्रसाईंले भने । प्रहरीका अनुसार अवैध बालगृह सञ्चालक कालिकोटका जयबहादुर विश्वकर्मा हुन् ।

उनी दुई महिनादेखि फरार रहेको प्रहरीको भनाइ छ । सञ्चालक फरार हुँदा बालबालिकाले राम्रोसँग खाना पनि पाएका थिएनन् । होस्टेलका कामदारले आसपासका किराना पसलबाट दुई महिनादेखि उधारोमा रासन ल्याएर खुवाउने गरेको डिएसपी प्रसाईंले बताए । बालबालिकाको स्वास्थ्य अवस्था राम्रै रहेको भए पनि सरसफाइ नगरिएको पाइएको छ । बालगृह पनि अस्तव्यस्त रहेको छ । सञ्चालक विश्वकर्माको खोजी भइरहेको उनले बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।