हिन्दूराष्ट्र पुर्नस्थापनाका लागि छिट्टै सडकमा आउँछौंः पशुपति शमशेर राणा

गणतन्त्रअनुकुल राष्ट्रपति चल्न नसकेको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर जबराले नेपाललाई पुनः हिन्दूराष्ट्र बनाउन छिट्टै सशक्त सडक संघर्ष गर्ने घोषणा गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष राणाले आफूहरूले हिन्दूराष्ट्र बनाउने वाचा गरिसकेको बताउँदै सम्पूर्ण शक्तिहरू सशक्त सडक संघर्षमा उत्रिने बताए । उनले भने, ‘नेपाललाई विदेशीको ईशारामा दुई÷चार जना नेताले धर्मनिरपेक्ष राष्ट्र बनाए । हाम्रो पार्टी यसको विरुद्धमा छ । अब सम्पूर्ण शक्ति एक भएर धर्मनिरपेक्षतालाई उल्ट्याउँछौं ।’

उनले नेपालमा ८१ प्रतिशत हिन्दू र ९४ प्रतिशत ॐकार परिवार रहेकोले सबै एकीकृत भई हिन्दूराष्ट्र बनाउन लाग्नुपर्ने आग्रह गरे । नेपाललाई हिन्दूराष्ट्र बनाउनका लागि विदेशी सहयोग नचाहिने पनि उनले स्पष्ट पारे । राणाले थपे, ‘नेपाललाई हिन्दूराष्ट्र बनाउनको लागि हामीलाई अन्तको सहयोग चाहिँदैन् । हामीसँग भएको संख्या नै काफी छ ।’

काँग्रेसले प्रतिपक्षको भूमिका खेल्नै सकेन
अध्यक्ष राणाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस यतिवेला ढुलमुल भएर बसिरहेको आरोप लगाए । भने, ‘कांग्रेसले प्रमुख विपक्षीको भूमिका खेल्नै सकेको छैन् । कांग्रेसले प्रष्ट रुपमा विरोधी शक्तिको नेतृत्व लिनुपर्छ ।’ राणाले वर्तमान ओली सरकार यही रुपमा अघि बढे राम्रो हुँदैन भन्ने कुरामा कांग्रेस प्रष्ट हुनुपर्नेमा जोड दिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहणमा विम्स्टेक राष्ट्रका प्रमुखहरूलाई बोलाइएको र नेपालका प्रधानमन्त्री ओली पनि सहभागी भएको उल्लेख गर्दै मोदी र ओलीबीच के–के कुराकानी भयो भन्ने कुरा आफूलाई थाहा नभएको उनको भनाइ छ । राणाले नेपाल–भारतबीचको सम्बन्ध राम्रो हुनुपर्ने धारणा राखे ।

थापसँग एकताको सम्भावना
आफ्नो पार्टी र कमल थापाले नेतृत्व गरेको राप्रपाबीच एकताको सम्भावना रहेको पनि उनले खुलाए । भने, ‘राय मिल्ने शक्तिसँग एकता हुन्छ ।’ अध्यक्ष राणाले वर्तमान प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा बहुदलीय व्यवस्थायता अहिलेसम्मकै ठूलो उपलब्धि हासिल गरेको पनि सुनाए ।

ओलीको काम हात्ति फुस्सा जस्तै
‘उहाँले एमाले र माओवादी केन्द्रलाई एकता गरेर नेकपा बनाउनुभयो,’ उनले भने, ‘नेकपाले चुनावमा भारी बहुमत हासिल गर्यो । उपेन्द्र यादवसहित उहाँले दुई तिहाईको सरकार बनाउनुभयो । यो राजनीतिक रुपमा ठूलो सफलता हो ।’

तर, शक्तिशाली सरकार गठन भएको एक वर्षभन्दा बढि समय व्यतित भइसक्दा पनि अहिलेसम्म जनताले ठोस उपलब्धि प्राप्त गर्न नसकेको उनको आरोप छ । उनले भने, ‘आखिरीमा यो सरकारको काम हेर्दा हात्ति आयो हात्ति फुस्साजस्तै छ ।’
प्रधानमन्त्री ओलीले प्राप्त म्याण्डेटअनुसार काम गर्न नसकेको उनको अर्को गम्भिर आरोप छ । उनले भने, ‘जनताले उहाँलाई मनपरी गर्नको लागि बहुमत दिएको होइन । बरु, राष्ट्र बनाउनको लागि दिएको हो ।’

मुलुकमा व्यापक भ्रष्टाचार रहेको सुनाउँदै सरकारले यसप्रति पनि चासो नदेखाएको उनको आरोप छ । राणाले थपे, ‘बुढीगण्डकी, मेलम्चीजस्ता आयोजनामा पनि भ्रष्टाचार भएको छ । हरेक कुरामा भ्रष्टाचारको दुर्गन्ध छ । तर, प्रधानमन्त्रीजीले प्राप्त गरेको म्याण्डेटअनुसार आफ्नो ईमानदारिता देखाउन सक्नुभएन ।’

सरकारको विरोधी शक्तिहरु एकीकृत भएर सरकारले गरेका हरेक बेईमानी र गल्तीहरुको विरुद्धमा अब सडकमा उत्रिनुपर्ने पनि राणाले आवश्यकत्ता औंल्याए । बुढीगण्डकीजस्तो ठूलो परियोजनामा बिना प्रतिष्पर्धा ठेक्का दिनु गलत भएको उनको टिप्पणी छ ।

हिन्दूराष्ट्र स्थापनाको लागि गरिने सडक संघर्ष र सरकारको विरुद्धमा गरिने संघर्षका कार्यक्रम दुवै अलग–अलग विषय भएको पनि उनको भनाई छ । हिन्दूराष्ट्र पूर्नस्थापनको लागि सकेसम्म छिट्टै सडकमा आउने पनि उनले जनाए ।

तपाईहरु मुलुकमा राजसंस्था फर्काउने पक्षमा हुनुहुन्छ, त्यसका लागि कसरी अघि बढ्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘यो मुलुकमा नयाँ संविधान बनाउने प्रमुख चार शक्तिमा हामी पनि एक थियौं । संविधान जारी गर्दा हामीले यो एजेण्डामा त्यति ध्यान दिएनौं । हामी बढि हिन्दूराष्ट्रको एजेण्डामा केन्द्रित भयौं ।’

राणाले राष्ट्रप्रमुखको भूमिका प्रजातन्त्र र गणतन्त्र अनुकुल चल्न नसकेको खरो टिप्पणी गरे । उनले भने, ‘अरबौंको खर्च गरेर राष्ट्रपतिको लागि हेलिकप्टरको सवारी तय गरिँदैछ । मेरो काका, जिजुकाकाले दिएको जग्गाले नपुगेर थप जमिन जोड्ने कुरा भैरहेको छ । राष्ट्रपतिको यो किसिमको सोख प्रिजेन्ट गर्न सकिँदैन् ।’