ट्रम्पले दुई दिने दक्षिण कोरिया भ्रमण गर्दै

सिन्हवा/अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्ने भएका छन् । दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार यो जानकारी गराएको छ ।

ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले पत्रकार सम्मेलनमा ट्रम्पले अगामी शनिबारबाट दक्षिण कोरियाको दुई दिने भ्रमण गर्न लागेको बताएका हुन् । भ्रमणका क्रममा ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनसँग आइतबार भेटवार्ता गर्ने जनाइएको छ ।

यस भेटका क्रममा दुई देशबीच अझै गहिरो सम्बन्ध र सहयोगलगायत कोरियाली प्रायद्वीपमा निसश्त्रिकरणको विषयमा छलफल हुने प्रवक्ताले जानकारी दिए ।

मुन र ट्रम्पकोबीच तीन महिना भन्दा पनि कम समयमा पुनः भेटवार्ता हुन लागेको बताइएको छ । यसअघि गत अप्रिलमा यी दुई नेताबीच भेटवार्ता भएको थियो ।

ट्रम्पले सन् २०१७ को नोभेम्बरमा दक्षिण कोरियाको राजधानी सोलको भ्रमण गरेका थिए । दक्षिण कोरियाको भ्रमण गर्नुअघि जापानको ओसाकामा हुने जि २० सम्मेलनमा शुक्रबार र शनिबार ट्रम्पले सहभागीता जनाउने छन् ।

दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनको निमन्त्रणामा ट्रम्पको यो भ्रमण हुन लागेको ब्लु हाउसका प्रवक्ताले जानकारी दिए ।