परशुराम नगरपालिकाको बजेट ६१ करोड साढे ३३ लाख, प्राथमिकतामा शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन

डडेल्धुरा । धार्मिक पर्यटकीय सम्भावना बोकेको क्षेत्रफलका हिसाबले नेपालकै ठूलो परशुराम नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६१ करोड ३३ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । पाँचौ नगरसभामा मंगलबार नगरप्रमुख भीमबहादुर साँउदले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका हुन्।

बजेटमा सरकारको सशर्त अनुदान २२ करोड ८७ लाख र वित्तीय सामान्यीकरणतर्फ ११ करोड ९१ लाख अनुदानसमेटिएको छ । सरकारबाट प्राप्त राजश्व अनुदानतर्फ ११ करोड ४३ लाख अनुदान दिने प्रस्ताव बजेटमा छ।

सुदूरपश्चिम प्रदेश सरकारले वित्तीय सामान्यीकरणमा ७२ लाख २१ हजार र राजश्व अनुदानतर्फ ३६ लाख ८६ हजार अनुदान दिने अनुमान बजेटमा गरिएको छ। परशुराम नगरपालिकाले आन्तरिक स्रोत परिचालनबाट कूल बजेटको एक करोड ७५ र सञ्चित कोषतर्फ पाँच करोड ७० लाख ५८ हजार प्राप्त गर्ने अनुमान गरेको छ।

यस्तै ज्येष्ठ नागरिक, दीर्घ सेवा सम्मान तथा सामाजिक सुरक्षा कार्यक्रमतर्फ पाँच करोड ७५ लाख, प्रदेश तथा स्थानीय तह क्षमता विकास कार्यक्रममा पाँच लाख, सडक बोर्ड नेपालबाट ४० लाख, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट ६० लाख र बहुक्षेत्रीय पोषण कार्यक्रमबाट १७ लाख ८६ हजार गरी ६१ करोड ३३ लाख ५१ हजारको अनुमानित बजेट प्रस्तुत गरिएको हो ।

नगर प्रमुख साउदले चालू आर्थिक वर्षको यथार्थ आय ५१ करोड ९६ लाख ९४ हजार ४ सय ५० र जेठ मसान्तसम्म ३१ करोड ४६ लाख ७८ हजार चार सय ७५ रुपैँया खर्च भएको जानकारी गराए ।

शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायतलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको छ । उद्यमशिलता र तालिमतर्फ पनि बजेटले जोड दिएको छ । पहिलेको भन्दा थप सुधार भएर आगामी वर्षको नीति, कार्यक्रम र बजेट ल्याएको साउदको भनाइ छ ।

नगरपालिकाको नीति तथा कार्यक्रममा धेरैजसो पुरानै कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । यसपटक पनि नगरको पूर्वाधार विकासमा जोड दिइएको छ।

आलिताल गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेको छ। गाउँपालिका उपाध्यक्ष जला कुमारी बिष्ट बोगटीले ३६ करोड, ९७ लाख ५० हजार बराबरको बजेट प्रस्तुत गरेकी हुन् । गाँउपालिकाले शिक्षा, स्वास्थ्य र पूर्वाधारलगायतका विषयलाई मुख्य प्राथमिकतामा राखेको छ।

भागेश्वर गाउँपालिकाले पनि आर्थिक वर्षका लागि ३० करोड, ९ लाख, २० हजार बराबरको बजेट प्रस्तुत गरेको छ । गाँउपालिकाका उपाध्यक्ष पदम बोहोराले बजेत पेश गरेकी हुन् । चालुतर्फ चार करोड ९२ लाख ७६ हजार बजेट विनियोजन गरिएको छ। गाउँपालिकाले ‘उज्यालो भागेश्वर कार्यक्रम’का लागि एक करोड पाँच लाख ७५ हजार रकम विनियोजन गरेको छ ।