बुढीगङ्गा नगरले किसानलाई पेन्सन दिने

बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिकाले किसानलाई पेन्सन सुविधा दिने निर्णय गरेको छ।

तेस्रो नगरसभाले नगरबासी कृषकलाई त्यस्तो सुविधा दिने निर्णय गरेको नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले बताए।

बुढीगङ्गाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन्।

देशभरका अन्य कुनै स्थानीय सरकारले किसानलाई पेन्सने सुविधा दिने निर्णय गरेका छैनन्।

तत्काल कायििबधि बनाएर यसै आर्थिक वर्षबाट पेन्सन दिन शुरु गर्ने नगरसभाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल ठकुल्लाले जानकारी दिए।

किसानलाई शुरुमा मासिक ५ सय रुपैयाँ देखि १ हजार रुपैंया उपलब्ध गराउने प्रस्ताव गरिएको छ।

५१ करोड बजेट प्रस्तुत गरेको नगरपालिकाले फलफूल गाउँ निर्माणदेखि कृषि पशुपालनलाई प्राथमिकता दिएको छ।
यस वर्षबाट निजी स्रोतका शिक्षक नराखी नगर स्वयंसेवक शिक्षक राख्ने र शिक्षा विकासमा विशेष जोड दिने नीति नगरपालिकाले लिएको छ। त्यसका लागि ८० लाख रुपैंया बजेट विनियोजन गरिएको छ।

यस्तै नगरपालिकाले नगरबस सञ्चालन गर्ने निर्णय गरेको छ । नगरका सबै वडामा बाटो पुगिसकेकाले सर्वसाधारणको आवश्यकता अनुसार निर्णय गरिएको वडा ९ का अध्यक्ष भरतबहादुर थापाले बताए।