मैनबत्ती बालेर विद्युत् उत्पादनगृहको चौकीदारी

पर्वत । ग्राहकका घरघरमा उज्यालो पुर्याउन विद्युत् उत्पादन गर्ने विद्युत्गृहमा नै बिजुली छैन भन्दा अनौठो मान्नु होला, तर यो वास्ताविकता हो । बिजुली उत्पादन गर्ने पर्वतको मोदी गाउँपालिकास्थित पातीखोला जलविद्युत् आयोजनाका कर्मचारी विद्युतगृहमै मैनबत्ती बालेर बस्न बाध्य छन् ।

पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न स्थानीयवासीले अवरोध गरेपछि विद्युत् उत्पादन गर्न नसक्दा कर्मचारी चार दिनदेखि विद्युतगृहमै मैनबत्ती बालेर बस्न बाध्य भएका हुन् ।

गाउँपालिका ३ घुरुङ्गामा रहेको एक मेगावाट क्षमताको पातीखोला जलविद्युत् आयोजनाको प्रसारण लाइन मर्मत गर्न नदिएपछि साउन ४ गतेदेखि विद्युत् उत्पादन बन्द भएको आयोजनाले जनाएको छ । गाउँपालिका २ मा पर्ने ढाँडखेत बगरका बासिन्दाले घरमाथिबाट प्रसारण लाइन गएको र विद्युतका तार खसेर चुहावट हुने खतरा रहेको भन्दै मर्मत गर्न दिएका छैनन् ।

प्रसारण लाइनको एउटा पोलमा रहेको बिग्रेको कण्डक्टर मर्मत हुन नसक्दा चार दिनदेखि उत्पादन ठप्प भएको आयोजनाका प्रबन्ध निर्देशक विष्णुराज कोइरालाले बताए । “प्रसारण लाइनको तार अड्याउने कन्डक्टरको पिन फेर्न नदिँदा विद्युत् उत्पादन ठप्प छ”, प्रबन्ध निर्देशक कोइरालाले भने, “विद्युत् उत्पादन गर्न नसक्दा कर्मचारीले रातभर मैन बालेर विद्युत्गृह कुर्दै आएका छन्”, वर्षायाममा आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुन्छ ।

एक दिन विद्युत् उत्पादन बन्द हुँदा कम्तीमा एक लाख नोक्सान व्यहोर्न बाध्य भएको आयोजनाले जनाएको छ । प्रसारण लाइनका कण्डक्टरमा कहिलेकाहीँ समस्या आए पनि त्यसले खतरा नहुने आयोजनाको जिकिर छ । आयोजनाले ११ वर्षदेखि विद्युत् उत्पादन गर्दै आएको थियो ।
रासस