सडक बन्यो खोलो, खैरालाबासीलाई पैदल हिँड्न पनि मुस्किल

कैलाली । कैलालीको साविक खैराला गाविसमा ‘अन्धाधुन्ध’ डोजरले खनिएको सडक खोलोमा परिणत भएको छ । मुलुक संघीयतामा प्रवेश गरेसँगै चुरे गाउँपालिकाको वडा नम्बर ४ मा पारिएको खैरालाका बासिन्दा वर्षा लागेपछि पैदल हिँड्ने बाटो पनि नभएपछि थप मर्कामा परेका छन् ।

‘कुनै नाप नक्साबिना, बिना इन्जिनियरिङ डोजर चालकको भरमा बाटो निर्माण गरियो’, स्थानीय बासिन्दाको गुनासो छ, ‘अहिले आएर हिँडेर तराइँ झर्ने बाटो पनि बन्द भयो ।’ सडक निर्माणका नाममा ठेकेदारले ठाडै भीरमा उकालो मोड निर्माण गरेको, सडकको किनारमा कुनै नाली निर्माण नगरेकाले भएको पुरानो बाटो पनि पहिरो खसेर पुरिएको स्थानीय  बासिन्दाले बताए । ।

करिब १२ वर्ष अघिदेखि निर्माण गरिन थालेको खैराला–चौमाला सडकमा करिब चार करोड लागत लागिसके पनि चौमालादेखि गाउँसम्म जम्मा १६ किलोमिटरमा अझै यातायात पुग्न सकेको छैन । वर्षेनी गाविस (गाउँपालिका) र जिल्लाको बजेट उपभोक्ता समिति र ठकेदारले कुम्ल्याउने काम मात्रै भएको स्थानीयको गुनासो छ ।

वर्खाको बेला सडक खोलोमा परिणत भए पनि मानिस हिंड्ने बाटो पनि नरहेपछि बिरामी, बालबालिका र बुढापाकालाई सहर झर्नै बन्द भएको स्थानीयको गुनासो छ । कैलालीको विकट चुरे क्षेत्रमा पर्ने खैराबाट कम्तिामा ८ घन्टा हिँडेरै चौमाला झर्नुपर्ने हुन्छ । हिउँदका केही महिना आधा बाटोसम्म थोत्रा र अन्य रुढबाट हटाइएका जीप सञ्चालन हुने गरेपनि गाउँपालिका र स्थानीय प्रशासनले यसप्रति कुनै ध्यान दिएको छैन ।

खनिएको सडक अवैज्ञानिक र ठाडो मोडका कारण जोखिमयुक्त भएको सवारी चालकहरु नै बताउँछन् । यस वर्ष खैराला–चौमाला सडक एक करोड बढीको ठेका लिलाम बढाबढमा ३९ लाखमै गाउँपालिकाले ठेका दिएको हो । ‘एक करोड लाग्ने बाटो कसरी ३९ लाखमा बन्छ ?’, स्थनीयको पश्न छ, ‘यो बाटो बनाउन होइन, पार्टीका कार्यकर्ता पाल्ने उपाए हो ।