अक्षयलाई पर्यटनमन्त्रीको सुभकामना

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले नेपालको प्रतिनिधित्व गर्दै ‘मिष्टर वल्र्ड २०१९’मा सहभागी हुन लागेका अक्षय रायमाझीलाई बधाई तथा शुभकामना दिएका छन् ।

आइतबार मन्त्रालयमा भेट गर्दै मन्त्री भट्टराइले ‘मिस्टर वल्र्ड’ नेपाल चिनाउने एउटा महत्वपूर्ण फोरम भएको बताए । उनले सो मञ्चबाट भिजिट नेपाल २०२० को सन्देश पनि प्रवाह गर्दै नेपाल भ्रमणको निम्तोसमेत दिन अक्षयलाई आग्रह गरे ।

‘नेपालका सबै युवाको प्रतिनिधित्व गरेर तपाई ‘मिस्टर वल्र्ड’मा जाँदै हुनुहन्छ,’ मन्त्री भट्टराइले भने, ‘फर्केर आएपछि तपाइँलाई अभिनन्दन समेत गरौँला । भिजिट नेपाल २०२० का लागि सबैलाई निम्तो गर्नुहोला ।’

रायमाझीले मिस्टर नेपाल आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापालगायत एक टोलीका साथमा मन्त्री भट्टराइलाई भेटमा मन्त्रालय पुगेका थिए ।