ह्वात्तै बढ्यो सुनको मुल्य, प्रतितोला ७० हजार

काठमाडौं । लगातार उकालो लाग्दै गएको सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ७० हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु ६९ हजार ७०० पुगेको छ भने चाँदीको मूल्य पनि निरन्तर उकालो लागेको छ । आज चाँदी प्रतितोला ८२५ मा कारोबार भएको महासङ्घले जनाएको छ । पछिल्लो एक साताको अवधिमा छापावाला सुनको मूल्यमा पाँच हजार वृद्धि भएको हो ।

गत बिहीबार छापावाला सुन प्रतितोला ६५ हजार र चाँदी प्रतितोला ७७० मा कारोबार भएको थियो । छापावाल सुन शुक्रबार प्रतितोला ८०० ले बढेर ६५ हजार ८०० पुगेको थियो । आइतबार पनि सुनको मूल्य बढ्ने क्रम जारी रह्यो । आइतबार प्रतितोला रु ५०० ले बढेर ६६ हजार ३०० मा खरिदबिक्री भएको महासङ्घले जनाएको छ । एकाएक सोमबार सुनको मूल्य ह्वात्तै बढ्यो । सो दिन सुन प्रतितोला एक हजार ५०० बढेर ६७ हजार ८०० मा कारोबार भएको थियो । निरन्तर उकालो लाग्ने क्रम जारी रहेपनि मङ्गलबार भने सुनको मूल्य स्थिर रह्यो ।

मङ्गलबारको मूल्यमा प्रतितोला ७०० का दरले बढेर बुधबार सुनको मूल्य ६९ हजार ५०० पुगेको थियो । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔस एक हजार ४९७.०५ डलर छ । विश्वबजारमा नै सुनचाँदीको मूल्य बढेकाले स्वभाविक रुपमा नेपालमा पनि त्यसको प्रभाव देखिएको महासङ्घका अध्यक्ष मोहनकुमार सुनारले जानकारी दिनुभयो । चीन–अमेरिका व्यापार टकरावका कारण पनि सुनको भाउ उकालो लागेको हुनसक्ने महासङ्घले जनाएको छ ।