मेस्सी लिगको पहिलो खेलका लागि टोलीमा फर्किदै

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी ला लिगा अन्तर्गत शनिबार हुने सिजनको पहिलो खेलाका लागि टोलीमा फर्किने तयारीमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सोनी इएसपिएनले जनाएको छ ।

चोट ग्रस्त भएका मेस्सीले एथ्लेटिको बिल्वाओसँगको पहिलो खेलका लागि बुधबार एक्लै प्रशिक्षण गरेको सोनी इएसपिएनले जनाएको हो । छिट्टै चोटमुक्त हुन मेस्सी टोलीका फिटनेस प्रशिक्षक जुआन्जु ब्राउसँग प्रशिक्षणमा रहेका छन् ।

मेस्सी पछिल्लो साता प्रि-सिजनका दौरान युएस टुरमा घाइते भएका थिए । मेस्सीले प्रि-सिजनका पाँच खेलमा सहभागीता जनाएनन् । तर, उनी सिजनको पहिलो खेलका लागि टोलीमा फर्किन सक्ने सम्भावना धेरै भएको बताइएको छ ।

यसअघि भने प्रशिक्षक एर्नेस्टो भलभर्डेले मेस्सी पहिलो खेलका लागि तयार हुने सम्भावना धेरै कम रहेको बताएका थिए । किनकी प्रशिक्षक भलभर्डेले आफ्ना स्टार खेलाडीका लागि कुनै जोखिम नलिने बताए ।

उनले मेस्सीविना पनि टोली जितका लागि तयार रहेको बताएका छन् । बार्सिलोनाले २५ अगस्टमा घरेलु मैदान क्याम्प नाउमा रियल बेटिससँग सिजनको दोस्रो खेल खेल्दै छ ।