गाइजात्राको मौकामा कलाकारले गरे नेतादेखि कर्मचारीको सत्तोसराप

काठमाडौं । गाईजात्रा पर्वको परेर आयोजित कार्यक्रममा ख्यातिप्राप्त हाँस्य कलाकारहरुले देशको पछिल्लो घटना र सन्दर्भमाथि व्यंग्यात्मक प्रहसन गरेका छन् ।

३१ साउनमा गाइजात्रा विशेष साक्षात्कारमा सहभागी उनीहरुले नेतादेखि कर्मचारीसम्मलाई व्याङ्ग्य गर्दै झटारो हानेका हुन् । हास्यकलाकारहरुले नेताका व्यवहार, शैली, स्वभाव र प्रवृतिलाई व्यङग्यमार्फत निसाना बनाएका थिए ।

ब्याप्त भ्रष्टाचार, बलात्कार, ठगी र समाजिक संजालमामाथिका विसंगतीलाई समेट्दै नेताहरुकै आवाजमा व्यङ्ग्य प्रस्तुत गरे । सरकारको नेतृत्व गरिहेका नेताहरुलक्षित गाइजात्रा विशेष व्यङ्ग्य प्रस्तुत गरेका हुन् ।

कार्यक्रममा हाँस्यकलाकार श्रीकृष्ण सिमखडाले समाजमा भइरहेका विभिन्न घटनाकोबारेमा व्यंग्य गरेका छन् । देशमा गणतन्त्रको नाममा लुटतन्त्र मच्चिरहेको भन्दै उनले नेताहरुका आसेपासेले देश लुटिरहेको गहिरो व्यङग्य प्रस्तुत गरे । नेतालाई भोट हाल्ने युवाजति गाँउको हजारौँ विघा जमिन बाँझै छोडेर सबै विदेशमा रहेका र नेताले आफ्ना सात पुस्तालाई पुग्ने सम्पती कमाउने धन्दामा रहेकाले देश विकासमा ध्यान नदिएको व्यङग्य गरे ।

प्रधानमन्त्री केपि शर्मा ओली तथा काँग्रेस सभापती शेरवहादुर देउवाको आवाज बोलीमा उतार्दै उनले समय र परिवेस अनुरुप देश अगाडि नबढेको धारणा राखे । नेपाललाई सुधार्न जनता जान्न चाहान्छन होइन अब नेता जान्न चाहान्छन कि चाहँदैनन् भन्ने कार्यक्रम चलाउन पनि पत्रकार ऋषि धमलालाई उनले आग्रह गरे ।

कार्यक्रममा हाँस्यकलाकार दमन रुपाखेतीले आजको दिनलाई नेताहरुको पुण्य तिथिको संज्ञा दिँदै वर्तमान सरकार मुलुकको अवस्थाप्रति संवेदनशिल नभएको आरोप लगाए । अहिले हरेक घरमा नेता, पत्रकार, बलत्कारीहरु व्याप्त हुँदै गएको भन्दै उनले उखान टुक्काले मात्र देशमा रहेका विसंगतिको अन्य नहुने धारणा राखे ।

देशले बुढो तथा रोगी प्रधानमन्त्री पाएको भन्दै उनले रगत सुकेको तथा नसाले काम नगर्ने प्रधानमन्त्रीको अवस्थाजस्तै देशको पनि अवस्ता रहेको धारणा राखे ।

कार्यत्रममा अर्का कलाकार जोगेन्दर पानवालाले विकसित तथा विकासोन्मुख देशमा राजनीतिक व्यंग्य नहुने जनाउँदै हाम्रो देशमा पनि राजनीतिमाथिको व्यंग्यको अन्त्य हुुनुपर्ने दिनको पर्खाइमा जनता रहेको बताए ।

उनले देशमा व्याप्त भ्रष्ट्राचार, विषाधि युक्त भान्सा, जनतामाथी सरकारको हैकम, करको दायर बढाउँदा जनताको दैनिकीमाथि परेको प्रभाव, लुटेरा भ्रष्टलाई दिने तक्मा तथा सम्मान र नेताको विकास सम्बन्धी योजनाहरुका बारेमा व्यंग्य प्रस्तुत गरे ।

कलाकार राजाराम पौडेलले पछिल्लो समय राजतन्त्र फर्कने हल्ला चलिरहँदा नेताको व्यवहारबाट वाक्क भएको बताए । ‘राजाले बरु अंगुरको वाइन खालान तर होली वाईन खादैनन्,’ उनले भने ‘ऋषि जीले नेपाली कागज ल्याउनु भएको भए म हस्ताक्षर गरेर दिनसक्छु राजाले देश बेचेको ईतिहास छैन ।’ अहिलेको संघीयताले पनि देशलाई कंगाल बनाउँदै लगेको उनको आरोप रहेको छ ।

‘अहिलेका समाजिक सञ्जाल के भएका ? दिसा पिसाव गरेकोे समाचारलाई प्राथमिकता दिएर प्रसारण प्रकाशन गरिरहेका छन,’ उनले भने, ‘वास्तविक पत्रकार को हो भन्ने छुट्टयाउन गाह्रो, जता पनि जात्रा नै जात्रा । ’ कार्यक्रमकै क्रममा आफूले प्रधानमन्त्रीको जिम्मेवारी पाए अहिलेको मन्त्रीमण्डलमा भएका कुनै पनि नेतालाई आफ्नो मन्त्रीमण्डलमा नराख्ने उनले बताए । अहिलेका नेताहरुले कानुन हेरेर नभई अनुहार हेरेर न्याय दिने खेल भईरहेको पनि सुनाए ।

डा. घनश्याम खतिवडाले देशमा व्याप्त समस्याको बारेमा भित्रसम्मै समस्या रहेको जनाउँदै हरेक क्षेत्रमा भ्रष्ट्राचार अनियमियताले प्रश्रय पाएको जनाए । स्कुलदेखि विश्व विद्यालयसम्मै समस्याले पीडित रहेको जनाउदै उनले सबै पक्षलाई सफल बनाउन अहिलेका नेताको क्षमता नरहेको पनि प्रष्ट पारे ।

उनले भने, ‘सामाजिक सञ्जालको दुरुपयोग दिन दुई गुना रात चार गुनाले बृद्वि भईरहेको छ । श्रीमान विदेशमा हुनेहरुका श्रीमती व्याइफ्रेन्ड बनाउँदै हिँडेका छन् । अनुसन्धानको दायरमा आउनुपर्ने भिडियो युट्युबबाट हेर्ने मिलिरहेको छ । मिसिनरीसँगको सम्बन्धले हाम्रो धर्म, संस्कृतिमाथि हस्तक्षेप भईरहेको छ ।’ अहिलेको सरकारले आर्थिक वर्षलाई चैतमा बनाई दिँदा पनि असारदेखि असोजसम्म हुने अपराधहरुमा कमि आउने पनि उनको धारणा रहेको छ ।