सैनिक सभामण्डलमा भारतीय बाँसुरीबादक चौरसियाको भव्य प्रस्तुति

काठमाडौं । भारतको ७३ औं स्वतन्त्रता दिवसको अवरमा भारतीय दूतावसले विश्व विख्यात बाँसुरीवादक पण्डित हरिप्रसाद चौरसियाको सांगीतिक कार्यक्रम आयोजना गरेको छ । दूतावासले साउन ३० गते काठमाडौंको भद्रकालीस्थित सैनिक सभामण्डवमा सांगीतिक कार्यक्रम गरेको हो ।

कार्यक्रममा उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली विशेष अतिथिका रुपमा सहभागी थिए । राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मीदेखि विद्यार्थी समेत सहभागी भएको कार्यक्रममा पण्डित हरिप्रसाद चौरसियाका साथ विवेक सोनार (बाँसुरी), देबोप्रिया रणदिवे (बाँसुरी), अमृता उप्रेती (तानपुरा) तथा शुभांकर बेनर्जी (तबला)मा प्रस्तुति दिएका थिए ।

पण्डित चौरसिया सांगीतिक क्षेत्रका विश्व प्रख्यात व्यक्ति हुन् । उनको सांगीतिक समूहद्वारा प्रस्तुत सांगीतिक कार्यक्रम अविस्मरणीय रहेको सहभागीहरुको प्रतिक्रिया थियो । चौरसियाले प्रस्तुत गरेको आधुनिक तथा शास्त्रीय बाँसुरी बादनले दर्शकहरु मग्न बनेका थिए ।