दिनभर गरेको कामले साँझ पछुतो नहोस: वशन्ती

वशन्ती डंगोल तामाङ यतिबेला दक्षीणकाली नगरपालिकाको उममेयरको जिम्मेवारीमा छन् । उनको यसअघिको यात्रा राजनीति होइन । १५ वर्षमै प्रेम विवाह गरेकी वशन्तीले त्यही कारण घरपरिवार र समाजमा निकै उपेक्षा सहनुपर्यो । घरमा ‘छुवाछुत’कै व्यवहार खेप्नुपर्यो , समाजमा कोही आफ्नाजस्ता लागेनन् । त्यही बेला सेयर एन्ड केयर नामको संस्था गाउँमा काम गर्न आयो । उनी त्यसको साक्षरता कक्षा सञ्चालन गर्ने अभियन्ताका रूपमा छानिइन् । गाउँमा कोही पनि एसएलसी पास गरेको बुहारी नभेटिँदा उनका लागि त्यो अवसर मिल्यो । विस्तारै तत्कालीन ६ वटा गाविसमै सामाजिक अभिन्ताका रूपमा प्रख्याती कमाएकी उनी एकाएक राजनीतिमा आइन् । उनीसँग अक्षरपाटी डटकमका लागि गरिएको कुराकानी :-

सामाजिक अभियन्ताका रूपमा राम्रै स्थान थियो, एकाएक कसरी राजनीतिमा होमिनुभयो  ?

हो, म नेवारकी छोरी, तामाङकी बुहारी भएर गएँ । त्यसबेलाको सामाजिक परिवेश नै त्यस्तै थियो । सायद, लोकलाजका कारण पनि मेरो परिवारमा मलाई स्वीकार्न गाह्रो भयो । त्यसपछि म सामाजिक सेवामा लागेँ । अभियन्ता नै बनेँ । सीप सिकेँ,   श्रीमानलाई सघाएँ । छापाखानामा ब्याण्डिङको जागिर खाएँ । धेरैथोक गर्दा गर्दै म समाजमा भिजेँ । परिवारमा रुचाइएँ । त्यही भएर साविकका ६ गाविस र केन्द्रमा पनि मैले महिला दिदीबहिनीका अधिकार, सीप, आयआर्जनका कामका लागि निकै पहल गरेँ । त्यसले मेरो पहिचान बनायो । मान्छेले रुचाए । त्यही क्रममा स्थानीय तहको निर्वाचनमा विभिन्न पार्टी मलाई चुनाव लड्ने प्रस्ताव लिएर आए । गाउँका अग्रज, बुद्धिजीवीले ‘लड्नुस’ भने पछि म लडेँ ।

काँग्रेसबाटै लड्नुको खास कारण छ ?

त्यसो होइन, म स्कुल पढ्दादेखि नै विपी कोइरालालाई पनि पढ्थेँ । उहाँका केही किताब, उहाँको आदर्श, सिद्धान्त र समाजवाद मलाई मन पथ्र्यो । म प्रस्तोताको पेशा पनि गर्थेँ, त्यो क्रममा म पारिश्रमिक लिएर जसको पनि कार्यक्रम सञ्चालन गर्थेँ । भयो के भने, कार्यक्रम सञ्चालन गर्ने क्रममा अलि बढी मैले काँग्रेसकै कार्यक्रम सञ्चालन गरेकी रहिछु । स्वभाविक रूपमले काँग्रेसका नेताहरूसँग मेरो चिनजान बढी थियो । त्यसैले मलाई काँग्रेसबाटै चुनाव लड्न ‘कम्फर्ट’ लाग्यो ।

राजनीतिज्ञप्रति आम जनताको खासै विश्वास नभएका राजनीतिमा बेला प्रवेश गर्नुभयो, कस्तो अनुभव गर्नुभएको छ ?

हो, राजनीतिककर्मीका केही बद्मासी, झुट, योजनाविनाको सपनाका कारण अनि आर्थिक बेथितिले राजनीतिप्रति आम नागरिक त्यति धेरै आकर्षित देखिँदैनन् । हिजो सामाजिक काम गर्दा मैले पनि धेरै समस्या भोगेँ, दौडधुप गरेँ, निराश पनि भएँ । कहाँ कहाँ पुगेर समाजका लागि के के मागिन् होला ! हुँदैन नभन्ने, काम कहिल्यै नगरिदिने प्रवृतिले जनता आजित छन् । त्यसो भन्दैमा राम्रो गर्छु र गर्नुपर्छ भन्नेहरू पनि त प्रवेश गर्नुपर्यो नि । मैले हिँजो आफू सेवाग्राही वा जनता हुँदा भोगेका पीडा कम्तिमा आफू नेता भए पनि जनतालाई भोगाउँदिन भन्ने प्रण गरेर यहाँ आएकी हुँ ।

तपाईँले भनेजस्तो ‘साधु नेता’ बन्न सम्भव छ त ?

आम जनता वा सेवाग्राही विभिन्न अपेक्षा, आकांक्षा बोकेर आउँछन् । उहाँहरूलाई हामीले सबैकुरा पारदर्शी रूपमा छर्लङ्ग पार्नुपर्छ । आस्वासन दिनु हुँदैन । देश विकासको गतिमा अघि बढिरहेकाबेला धेरैका धेरै समस्या र अपेक्षा छन्, तर हामीसँग कति क्षमता, स्रोत र साधन छ भन्ने कुरा जनतालाई बुझाउनुपर्छ । म कम्तिमा त्यो बुझाउने प्रयास गर्छु । दिनभर गरेको कामले साँझ पछुतो नहोस भन्नेमा सचेत छु ।

नगरपालिको उममेयरका हैसियतले तपाईँको खास जिम्मेवारी के हो ?

उममेयरका हैसियतले गर्ने कामसँगै मेरो संयोजकत्वमा न्याय समति, राजश्वा परामर्श समिति, बजेट सीमा निर्धारण समिति, अनुगमन समिति, अपाङ्गता परिचयपत्र वितरण समिति छ । मैले आफू भएको समितिलाई चुस्त बनाउने काम गरेकी छु ।

अपाङ्गता भएका नागरिकको परिचयपत्र बाँड्न घर घरमै पुग्नुभयो ? चर्चा पाउनका लागि हो ?

त्यसमा कुनै राजनीतिक उद्देश्य जोडिएको छैन । मलाई राजनीतिमा तिगडम गर्नु पनि छैन । हिँजो त्यही समाजमा सामाजिक काम गर्दा म घर घर टेकेकी छु । हरेकका पीडा छामेकी छु । मैले घरमै गएर उहाँहरूलाई परिचयपत्र दिनुको दुईटा कारण छ । एउटा भौतिक रूपमा मलाई उहाँहरूकोमा जान जति सजिलो छ, उहाँहरूलाई नगरपालिकासम्म आउन त्यति नै कठिन छ । अर्को म अहिले उपमेयर हो, म उहाँहरूकै घरमा पुगेर परिचय पत्र दिँदा उहाँहरू दंग पर्नुहुन्छ । ‘उपमेयरजस्तो मान्छे हाम्रो घरमै आएर परिचयपत्र दिनुभयो, हामीलाई वास्ता गर्नुभयो, राज्य त हाम्रो पनि अभिभावक रहेछ’ भन्ने मनोविज्ञान उहाँहरूमा पर्छ भनेर मैले त्यसो गरेकी हुँ । त्यो मात्र होइन मैले विभिन्न वडामा रहेका १४ जना अपांगता भएका नागरिकलाई ह्वीलचियर वितरण गराएकी छु । अझै बाँकी वडामा रहेकाहरूका लागि विभिन्न संस्थासँग पहल गरिरहेकी छु । यो मेरो सामाजिक उत्तरदायित्व हो ।

सामाजिक मनोविज्ञान बुझेर काम गर्ने कुरा गर्नुभयो  ? अध्ययन निकै गर्नुभएको छ  ?

मैले एसएलसी पढ्दा पढ्दै १५ वर्षको उमेरमा विवाह गरेँ । त्यसपति म घरायसी झमेलामा परेँ । विस्तारै सामाजिक काम गर्ने क्रममा मैले गाउँमा साक्षरता कक्षा चलाउने अवसर पाएँ । पछि गुजाराकै लागि र परिवारमा सम्बन्ध सुधार्न विभिन्न काम गरेँ । सीप सिकेँ । तालिम दिन गएँ । यस क्रममा मैले महिलाहरूले बीचमै पढाइ छोडेको, विवाह गरेर आएपछि पढ्न नपाएको घटना निकै देखेँ । अनि स्थानीय समाजसेवी, सेयर एन्ड केयर संस्था, गाविसलगायतसँग मिलेर शिखरपुरा सामुदायिक अध्ययन केन्द्र स्थापना गर्यौँ । त्यसको अगुवाइ गरेँ । त्यसको उद्देश्य बीचैमा पढाइ छोडेका, पढ्दा पढ्दै बुहारी भएर आएका दिदीबहिनीलाई लक्षित थियो । मैले यसको सुरुवात आफैबाट गरेँ । त्यसबेला मेरी छोरी ११ वर्षकी थिइन् । मैले पढाइ छोडेको १२ वर्षपछि ११ कक्षामा भर्ना भएँ । पछि विवाह गरेको १५ वर्षपछि ०६९ मा मैले समाजशास्त्रमा बिए पास गरेँ ।

चुनाव त महंगो पर्यो होला नि ?

मैले पैसा खर्च गर्छु, माहोल बनाउँछु भनेर चुनाव लडेकी होइन् । पार्टीले मलाई टिकट दियो भने, चिर्वाचन जितिन्छ भनेर दिएको हो, सायद । मेरो गाउँमा राम्रै छवी थियो । त्यसैले अत्याधिक मत लिएर जितेँ । तर चुनावकाबेला म छोरी जन्मिएको १७ वर्ष पछि छोराकी आमा भएकी थिएँ । ८ महिनाको दुधे बालक घरमा छोडेर चुनावमा होमिँदा केही कस्ट भयो । र पनि जेठानी, आमा, दाइ, भाउजु, गाउँका छिमेकी दिदीबहिनीहरु सबैले बाबुलाई खुवाउने खेलाउने गर्नुभयो, निकै सघाउनुभयो,  छोराको स्याहार मभन्दा राम्रो गरेकाले पीर भएन ।

कस्ता योजनामा लाग्नुभएको छ ?

म जे गर्छु आत्म सन्तुष्टि हुने काम गर्छु । गत वर्ष मलाई गाडी किन्न नगरपालिकाले ३० लाख बजेट विनियाजन गर्यो, मैले त्यो रकम विद्यालय र एम्बुलेन्सलाई दिएँ । कामधेनु प्राविधिक विद्यालयलाई २५ लाख र एम्बुलेन्सका लागि ५ खाल उपलब्ध गराएँ । जेष्ठ नागरिकलाई हामीले ‘बोल्ने देउता’का रूपमा सम्मान गर्न थालेको छौँ । त्यसका लागि हरेक वडामा जेष्ठ नागरिक मिलन केन्द्र स्थापना गर्ने योजना अघि सारेका छौँ । हरेक वडामा उहाँहरूलाई जमा हुने, बस्ने, खेल्ने, टिभी हेर्ने, पत्रपत्रिका पढ्ने हरियाली वातावरण सहितको केन्द्र बनाउँदैछौँ । दक्षिणकाली नगरपालिकाको ३ र ६ नम्बर वडामा यस्ता केन्द्र स्थापना भइसकेका छन् । यसले के गर्छ भने उहाँहरू जिउँदो देवता सरह हो, उहाँहरूको अनुभव वा कुरा नयाँ पुस्ताले सन्ने, आफूमा निखार ल्याउने र प्रगति पथमा लम्कनसक्ने वातावरण बन्छ ।

त्यस्तै महिला दिदी बहिनीले सिकेका सीप उपयोगका लागि विभिन्न साना उद्योग सञ्चालन गरिरहेका छौँ । नगरपालिकाले त्रिभुवन आदर्श माविमा मिनी गार्मेन्ट स्थापना गरेको छ । त्यहाँ सीप सिकेका दिदी बहिनीले कपडाको झोला र ज्याकेट बनाउँछन् । यसले केही दिनमा नगरपालिकालाई प्लास्टिरहित बनाउन मद्दत गर्नेछ । दुई वर्षभित्र स्वच्छ, सफा, हराभरा दक्षिणकाली नगरपालिका निर्माणका लागि शुक्रबारे अभियान चलाएका छौँ । नगरको समृद्धिका लागि वडा नम्बर १ को चाल्नाखेलमा पाँचवटा घरमा होमस्टे सञ्चालनमा ल्याएका छौँ । यो विभिन्न जातिको सँस्कृतिसहितको होमस्टे छ ।
नियमित, बजेट, न्याय सम्पादन, मेलमिलाप, अनुगमनलगायतका काम त भइरहेकै छन् । आफ्नो जिम्मेवारीमा भएका काम म कहिल्यै गुनासो नआउने गरी गरौँ भन्ने कुरामा जहिल्यै सचेत छु । इमान्दार छु ।