रहिनन् काँग्रेस संस्थापक लख्खीदेवी

काठमाडौं । तत्कालीन राष्ट्रिय कांग्रेस अर्थात आजको नेपाली कांग्रेसकी संस्थापक सदस्यमध्येकी एक डा. लख्खीदेवी सुन्दासको शनिबार निधन भएको छ ।

उमेरले ८५ पुगेकी सुन्दासको दार्जिलिङस्थित निवासमा निधन भएको हो । उनको निधनप्रति कांग्रेसले दुःख व्यक्त गरेको छ ।

भारतको कोलकात्तामा २००३ माघ १२ र १३ गते सम्पन्न नेपाली राष्ट्रिय कांग्रेसको महाधिवेशनबाट सुन्दास केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिइन् । महिलाको प्रतिनिधित्व गर्दै स्थापना महाधिवेशनबाट उनी निर्वाचित भएकी थिइन् ।

महिला वर्गको हकहित र विकासका लागि उनले राखेको प्रस्ताव उक्त महाधिवेशनले पारित गरिएको थियो ।

नेपाली कांग्रेसको स्थापनादेखि २००७ सालको जनक्रान्ति सफल नहुँदासम्म अहोरात्र खटिएकी सुन्दास त्यसपछि भने पार्टीको नेतृत्व तहमा रहिनन् ।

भारतमा उनी साहित्य, गायन तथा प्राध्यापन क्षेत्रमै लागिरहिन् । सन् २००१ को ‘भारतीय अकादमी’ पुरस्कार विजेता लख्खीदेवी कथाकार, कवि, समालोचक र साहित्यिक अध्येताको रूपमा स्थापित छन् ।