राम्रो बोलेर भोट आउँदैन, चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिनुस्: सभापति देउवा

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मिठो भाषण गरेर मात्र होइन, जनतामा जान नेताहरुलाई निर्देशन दिएका छन् ।

सोमबार रुपन्देहीको भैरहवामा आयोजित केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यक्रममा सभापति देउवाले यस्तो आग्रह गरेका हुन् ।

सभापति देउवाले ‘भाषणले भोट आउने भए मलाई भन्दा धेरै राम्रो बोल्न आउने नेताहरु छन् तर उनीहरुले चुनाव हारे,’ उनले भने, ‘अब चुनाव कसरी जित्ने भनेर प्रशिक्षण दिनुपर्यो।’

कांग्रेसमा जस्तो समावेशी अरु पार्टीमा नभएको तर, त्यसअनुसार भोट नआएको सभापति देउवाको भनाइ थियो । हरेक समुदायले पार्टीमा जति प्रतिशत आरक्षण पाएका छन्, त्यसअनुसार भोट ल्याउनुपर्ने भन्दै उनले भने, ‘महिलाले ३३ प्रतिशत ल्याउनुप¥यो, आदिवासी जानजाति सबैले प्रतिशतअनुसार भोट ल्याउनुपर्यो ।’

देउवाले अन्तर्घात गर्ने र नेतृत्वविरुद्ध बोल्नेहरुलाई अनुशासनको कारबाही गर्नुपर्ने चेतावनी पनि दिए । अन्तरघात गर्नेहरुलाई कारबाही नगर्ने हो भने कांग्रेसले कहिल्यै चुनाव नजित्ने उनको दाबी छ । देउवाले भने, ‘जथाभावी होइन, बदमासी गर्नेलाई प्रमाणका आधारमा कारबाही गर्ने हो ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा गुट अन्त्य गर्नुपर्ने र यसका लागि न्याय, निस्पक्षता र पारदर्शीता हुनुपर्ने बताए । नेता पौडेलले जनताले झुक्किएर कम्युनिस्टलाई भोट हालेको भन्दै कांग्रेसले आफूलाई भरोसायोग्य पार्टी बनाउनुपर्ने बताए ।