‘कैदीको पत्र’ बेलायतमा छायांकन हुँदै

काठमाडौं । साहित्यकार सनमकुमार बैरागले अर्का साहित्यकार स्व. इश्वर मानन्धरको चर्चित कथा ‘कैदीको पत्र’माथि फिल्म बनाइरहेका छन् । २६ जुलाईबाट बेलायतका बिभिन्न स्थानमा सुटिङ भइरहेको ‘कैदीको पत्र’को निर्देशन बैराग आफैले गरिरहेका छन् । फिल्मको पटकथा, सम्वाद र गीत पनि उनी बैरागले नै लेखेका हुन् ।

अध्ययनको क्रममा बेलायत पुगेको एक युवकको स्कटीस युवतीसँगको प्रेम र त्यसबाट सृजना भएको परिस्थितिको बिषय फिल्ममा समेटिने छ । फिल्मको एउटागीतको छायांकनमा सोमबार बेलायतका राजदुत तथा साहित्यकार दुवसु क्षेत्री पनि उपस्थित भए ।

फिल्ममा म्याडिसन लाजारस, कुनाल बिश्व, सलिना थापा मगर, पृथ्वी क्षेत्री, किरण कार्की, क्यारी डुड्स,चरण प्रधान,मनिष श्रेष्ठ, सुस्मिता थापा, सुवर्ण थापाले अभिनय गरेकाछन् । रामेश्वर कार्कीको छायांकन, सुरेश सेन्चुरी र बिनम्र कर्माचार्यको संगीत रहेको छ । मुख्य सहायक निर्देशक रामशरण कोइराला र सहायक निर्देशक सुस्मिता थापा हुन । कलिना–रुबिन श्रेष्ठ, हिराल आमीनजोशी र दिल घले निर्माता रहेको फिल्मको हालसम्म ५० प्रतिशत छायांकन सकिएको छ ।