पाँच लाख घरौटीमा रवि लामिछाने रिहा, पत्रकार शालिकरामको मृत्युबारे बोल्न बन्देज

चितवन । न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवी लामिछानेलाई जिल्ला अदालत चितवनले थुनछेक बहसपछि पाँच लाख घरौटी माग गर्दै साधारण तारेकमा रिहा गरेको छ । । उनीसँगै पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहनको मुद्दा खेपिरहेका युवराज कँडेललाई तीन लाख धरौटीमा साधारण तारेकमा रिहा गरेको छ भने अर्की अभियुक्त अस्मिता कार्की भनिने रुकु कार्कीलाई साधारण तारेखमा अदालतले रिहा गरेको छ ।

प्रस्तोता रवि लामिछानेलाई पत्रकार शालिकरामको मृत्युबारे सार्वजनिक रुपमा बोलन र टेलिभिजनमा कार्यक्रम प्रसारण गर्न तथा विदेश जान पनि रोक लगाएको छ । जिल्ला अदालत चितवनमा थुनछेक बहसपछि न्यायाधीश हेमन्त रावलको इजलासले मुद्दाको अन्तिम टुंगो नलागेसम्म मुद्दाको अनुसन्धानमा संलग्न प्रहरी, अभियुक्त, वकिल मुद्दाका पक्षहरुसँग फेसबुकमा लाइभ गर्न, ट्वीटरमा लेख्न, सार्वजनिक मिडियामा विचार दिन वा टेलिभिजनमा कार्यक्रम चलाउन, विचार दिन पनि रोक लगाइएको छ ।

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडाशैनीको साउन २० गते चितवनको कंगारु होटेलमा झुण्डिएको अवस्थामा शव फेला परेको थियो । उनले मर्नुअघि रवि लामिछाने, युवराज कँडेल र रुकुलाई दोशी हुन भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो ।