बंगलादेशमाथि नेपालको सानदार जित

काठमाडौं । भारतमा जारी साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले दोस्रो जित निकालेको छ।

भारतको कल्याणीमा मंगलबार सम्पन्न खेलमा नेपालले बंगलादेशलाई ४-१ गोल अन्तरले पराजित गर्दै दोस्रो जित निकालेको हो।

नेपाललाई जित दिलाउन क्रिशन अधिकारी यादवले दुई, सुगन जिमी र प्रदिप लम्सालले एक-एक गोल गरे। बंगलादेशका मियाँले एक गोल फर्काए।

जितसँगै नेपालले ३ खेलबाट ६ अंक जोडेको छ भने शीर्ष दुईमा रहँदै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ। यसअघि नेपाल पहिलो खेलमा भारतसँग ५-० गोल अन्तरले पराजित भएको थियो भने श्रीलंकालाई २-० ले हराएको थियो।

नेपालले अन्तिम खेल बिहीबार भुटानसँग खेल्नेछ। प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन्। प्रतियोगिताका शीर्ष दुई टोली उपाधिका लागि भिड्नेछन्।