मल्टिमिडिया अवार्ड लिएर आए मिष्टर नेपाल अक्षय

काठमाडौं – ‘मिष्टर वल्र्ड २०१९’को नेपाल प्रतिनिधि अक्षय रायमाझी मल्टिमिडिया अवार्ड लिएर स्वदेश फर्किएका छन् । उनी बुधबार अबर राती स्वदेश फर्किएका हुन् ।

६० भन्दाबढी राष्ट्रका प्रतिनिधीलाई पछि पार्दै उत्कृष्ट १२ भित्र पर्न सफल उनले मल्टिमिडिया अवार्ड नेपाल भित्र्याएका हुन् ।

फिलिपिन्सको मनिलामा केही दिन पहिले सम्पन्न प्रतियोगितामा सगरमाथा, गौतम बुद्ध, हिमाल, नदीनालालगायत नेपालको परिचान झल्कने भिडियो समेत उनले प्रस्तुत गरेका थिए । सोही भिडियोले उनलाई मल्टिमिडिया अवार्ड दिलाएको हो ।

अक्षयले नेपाली कलासंस्कृति झल्कने भोषभुषासहितको काल भैरव नाँच समेत प्रतियोगितामा देखाएका थिए ।
‘शिर्ष उपाधि भित्र्याउन नसके पनि मल्टिमिडिया उपाधी भने नेपाल ल्याएको छु’, उनले खुसी हुँदै भने ‘ नेपालको लागि यो पनि खुसीको कुरो हो ।’

बिश्वका प्रतिनिधिलाई भिजिट नेपाल २०२० को निम्तो समेत दिएको बताएका उनले प्रतियोगिताबाट धेरै कुरा सिक्न पाएको सुनाए । अक्षय ‘मिस्टर नेपाल २०१७’ का बिजेता हुन् ।