केन्द्रका मन्त्रीहरुले अधिकार दिएनन् : शर्मा, होली वाईनमा जनप्रतिनिधिहरुलाई लम्पसार बनाइयोः भण्डारी

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संघीयताको बुझाईमा संविधान जारी गर्दाका सहयात्री दलहरुबीच नै एकरुपता कायम नभएको गुनासो गरे । उनले भने, ‘संघीयताको बारेमा हामीहरुबीच एकरुपता छैन् ।’

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता शर्माले अझै पनि शिक्षा, स्वास्थ्यलगायतका महत्वपूर्ण क्षेत्रमा संघीयता कार्यान्वयनमा नगएको गुनासो पोखे । उनले भने, ‘अहिलेपनि थुप्रै मन्त्रालयहरु संघीयताको मर्म र भावनाअनुसार अघि बढेका छैनन्, संघीयता कार्यान्वयन गर्नेतर्फ कानुन तथा विद्येयकहरु पेश भएका छैनन् ।’

उनले संविधान र मुलुकको व्यवस्था नयाँ भए पनि काम गर्ने शैली पूरानै भएको र ऐन, कानून र विद्येयकहरु नयाँ आउन नसकेको टिप्पणी गरे । शर्माले केन्द्रका मन्त्रालयहरुले संघीयता कार्यान्वयन गर्नेगरि उपयुक्त कानून तथा ऐन बनाउन समस्या रहेको कुरा पटक–पटक सुनाए ।

शमाले वर्तमान सरकार असफल नभएको जिकिर गरे । उनले भने, ‘यो सरकारले सर्बोत्कृष्ट काम गर्छ । हामीले नसके भोलि कांग्रेस र राजपाका साथीहरु सरकारमा आउने हो । दलीय प्रणालीमा यो नौलो कुरा होईन् ।’ उनले केन्द्र सरकारका मन्त्रीहरुले प्रदेश तथा स्थानीय तहलाई अधिकार दिनको लागि हिचकिचाएको पनि आरोप लगाए ।

उनले भने, ‘संघका मन्त्रीहरुले तल अधिकार दिनको लागि अहिले हिचकिचाउने काम गर्नुभएको छ । तल अधिकार दिनको लागि कन्जुस्याँई गर्नुहुँदैन् । अधिकार जति आफ्नो मुठ्ठीमा राखेर बस्नुहुँदैन । यसरी कसरी देश समृद्ध हुन्छ ?’

राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता तथा संसदीय सुनुवाई समितिका सभापति लक्ष्मणलाल कर्णले पछिल्लो समय संघीयता, गणतन्त्र र धर्मनिरपेक्षमाथि समस्या आएको सुनाए । उनले भने, ‘मुलुकमा छिटो–छिटो परिवर्तन भएको छ । अहिले राजा आउ, देश बचाउ भनेको पनि सुनियो । यसलाई अन्यथा लिनुहुँदैन् ।’

मुलुकमा संघीयता आएको भए पनि आएकै दिनदेखि यो व्यवस्थाको विरोध गर्नेहरु आज पनि सक्रिय रहेको उनको भनाइ थियो ।


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद डा. चन्द्र भण्डारीले सरकार गठन हुनुभन्दा अघि केपी शर्मा ओलीको अभिनय रहेको फिल्म चलेको र त्यही फिल्मका कारण नेकपाले दुई तिहाई बहुमत हासिल गरेको सुनाए । उनले भने, ‘अहिले दुई तिहाई बहुमत प्राप्त ओली सरकारको फिल्म फ्लप भयो ।’

समाजलाई भड्काउनको लागि होली–वाईन प्रकरण भएको सुनाउँदै उनले सरकारको आलोचना गरे । भण्डारीले भने, ‘बुद्धको मुर्ती तोडफोडको घट्ना भयो । नेपालमा के हुँदैछ ? होली वाईन प्रकरणमा हाम्रा जनप्रतिनिधिहरुलाई लम्पसार बनाईयो । अहिले तीन, चार सय गाईलाई भीरबाट खसालेर मारिएको छ । जसले गरे पनि, यो मुलुकमा द्वन्द्व फैलाउन खोज्ने षड्यन्त्र हो ।’

अहिले मुलुकको प्रणालीमाथि नै औंला ठड्याउने षड्यन्त्र भैरहेको उनको चिन्ता थियो । उनले भने, ‘हामीले हाम्रो देशको क्षमता आँकलन गर्न सकेनौं । ९, १० खर्बको राजश्व उठ्छ, तर देशका तलदेखि माथिल्लो तहका सबै कर्मचारीको तलबमा देशको बजेट खर्च हुन्छ ।’

विगतमा देशमा एउटा राजामात्रै भएको तर अहिले आएर सयौं राजा, सयौं युवराज र सयौं युवराज्ञीहरु बन्न थालेको पनि उनको आरोप छ । उनले भने, ‘हाम्रा नेता तथा मन्त्रीहरुलाई फरक कुर्सी चाहिन्छ । नेताहरुलाई खोकी लाग्यो भने उपचारको लागि विदेश जानुपर्छ ।’ आफूहरुले प्रणालीलाई चलाउन नजानेको उनको टिप्पणी छ ।