‘प्रहरीले तत्काल एक्सन लिएर करोडौं लुटिनबाट जोगायो’

काठमाडौं । प्रहरीले प्रविधिको प्रयोगसँगै बैंक तथा वित्तीय संस्थामा सुरक्षामा चुनौती थपिएको जनाएको छ । शनिबार राति पाँच जना चिनियाँ नागरिकले विभिन्न एटीएमको पिन ह्याक गरी १ करोड ६८ लाख रुपैयाँ लुटिएपछि प्रहरीले प्रविधिले बैंक तथा वित्तीय संस्थामा सुरक्षा चुनौती थपिएको जनाएको हो ।

आज महानगरीय प्रहरी परिसरमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै परिसर प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले केही विदेशीहरू विदेशी ह्याकरहरू नेपाली बैंकिङ् प्रणालीलाई ह्याक गर्न सक्रिय रहेको जनाएका छन् । उनले बिदेशी ह्याकरहरू नेपालमा बैंकिङ प्रणाली ह्याक गर्नकै लागि आउने गरेको खुलासा समेत गरे ।

शनिबार सोह्रखुट्टेको एक एटीएमबाट ह्याकरले पैसा चोरी गरेका थिए । अस्वभाविक पैसा झिकिएको जानकारी आएपछि प्रहरीले तत्कालै एक्सन लिएको थियो । सुरुमा एकजनालाई पक्राउ गर्न सफल प्रहरीले उसैले दिएको जानकारीको आधारमा जयनेपाल हल नजिकैको होटलमा बसेका अन्य पाँच जना पक्राउ परेका हुन् ।

उनीहरूको साथबाट १ करोड ६८ लाख रुपैयाँ र ह्याक गर्न प्रयोग हुने डिभाइस पनि बरामद भएको छ । यस्तै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले प्रहरीले तत्काल कदम चालेर ठूलो रकम लुटिनबाट जोगाएको बताउँदै बचतकर्तालाई नआत्तिन आग्रह गरेका छन् ।