करोडौं लुट्ने पाँच चिनियाँ ह्याकर प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । शनिबार राति नेपालको बैंकिङ प्रणालीबाट करोड भन्दा बढी रकम लुटपाट गर्ने चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले लुटपाटमा संलग्न पाँच चिनियाँ नागरिकलाई आइतबार सार्वजनिक गरेको हो ।

शनिबार राति दरबारमार्गस्थित नबिल बैंकको एटीएम मेसिन प्रयोग गरी उनीहरू रकम लुटपाट गरेका थिए । रकम झिक्ने क्रममा एक चिनियाँ नागरिक पक्राउ परेपछि उनी बस्ने होटेलबाट थप चार जना पक्राउ परेका हुन् ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ३५ वर्षका चेन विन विन, ३२ वर्षका झु लियाङ आङ, ३० वर्षका क्यु याङयिङ, ४० वर्षका लु जियालिङ, २९ वर्षका लिन जिनमिङ रहेका छन् ।

प्रहरीका अनुसार उनीहरूको साथबाट १ करोड २६ लाख ४५ हजार नेपाली रुपैयाँ र केही विदेशी रकम बरामद भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार १ करोड ६८ लाख ५४ हजार रुपैयाँ बैंकिङ प्रणालीबाट नोक्शान भएको जनाएको छ । नेपाल राष्ट्र बैंक र नेपाल बैंकर्स संघले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको बताएका छन् ।