विरामी शिक्षकलाई नगरपालिकाको पाँच लाख सहयोग

इनरुवा । एक बिरामी शिक्षकलाई इनरुवा नगरपालिकाले पाँच लाख सहयोग गर्ने भएको छ। सुनसरी सदरमुकाम इनरुवास्थित नवयुग एकेडेमीका शिक्षक सरोज दुलाललाई नगरपालिकाले उक्त रकम सहयोग गर्न लागेको हो।

‘सिभर एप्लाष्टिक एनिमिया’का बिरामी दुलाल खर्च अभावका कारण उपचारबाट बञ्चित छन्। नगरपालिकाका जनप्रतिनिधि तथा सम्पूर्ण कर्मचारीको तलबभत्ताबाट कटौती हुने गरी दुलालको उपचार खर्च जुटाउन लागिएको नगरप्रमुख राजन मेहताले जानकारी दिए। उनले एक महीनाको तलब उपचारका लागि सहयोग गर्ने घोषणा गरे। अन्यले दुई दिनको तलब दुलाललाई सहयोग गर्ने मेहताले बताए।

‘मानवीय धर्म सम्झेर सहयोग उपलब्ध गराउन लागिएको हो’, उनले भने। खर्च अभावपछि भारतमा उपचार गराउँदै आएका दुलाल घर फर्किएका छन्। चिकित्सकले दुई महीनाभित्र उपचार नगराए बिरामीको ज्यान जाने बताएका छन्। दुलालका लागि स्थानीयस्तरमा उपचार खर्च सङ्कलन अभियान सञ्चालन गरिएको छ।