हट्यो रेडक्रसको अवरोध, अब पूर्ववत् अवस्थामा संस्था अगाडि बढ्ने

काठमाडौं । करिब एक वर्षदेखि नेपाल रेडक्रस सोसाइटीको विषयमा देखिएको विवाद् किनारा लागेको छ । रेडक्रसको केन्द्रीय साधारण सभामार्फत कार्यक्रम, बजेट पारित गर्ने , महाधिवेशनमार्फत् निर्वाचनलगायत संस्थागत सेवाका गतिविधिहरुमा भइरहेको अवरोध हटाउन दिइएको रिट निवेदनमा सर्वोच्च अदालतले संस्थाको पक्षमा मंगलबार फैसला गरेपछि अबरोध अन्त्य भएको हो । सर्वोच्च अदालतले गरेको फैसलाप्रति नेपाल रेडक्रस सोसाइटी परिवारले खुशी व्यक्त गरेको छ ।

सोसाइटीले अदालतको फैसलाबाट सत्य एवं न्यायको जीत हुन्छ भन्ने विश्वासलाई थप पुष्टि गरेको महसुस भएको सोसाइटीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

सरकारको हस्तक्षपपछि रेडक्रसको विपद् पूर्वतयारी, उद्दार र सहयोग, स्वास्थ्य प्रवर्धन, मानवीय सम्मान अभिबृद्धि, एम्बुलेन्स सेवा, प्राथमिक उपचार, रक्तसञ्चार सेवा, जस्ता कार्यहरु प्रभावित भएका थिए ।
‘विगत केहि समयदेखि देखिएको संस्थागत अन्यौलता हटाउँदै न्यायिक प्रयत्न स्वरुप आएको यस फैसलाले सम्पूर्ण रेडक्रसकर्मीहरुलाई थप क्रियाशिल भई सेवाकार्यमा लाग्न अझ अभिप्रेरित गरेको’ विज्ञप्तिमा उल्लेख छ । सोसाइटीले विगत ५६ वर्षदेखिका संस्थाका सेवा गतिविधिहरु सञ्चालन गर्न सहयोगी र सम्पूर्ण सुभेच्छुकहरुमा समेत कृतज्ञता व्यक्त गरेको छ ।

संस्थाको साख र गरिमा वढाउदै मानवीय सेवामा अझ तल्लीन हुनुपर्ने आजको अवस्थामा संस्थाका सवै सदस्य, स्वयंसेवक र सुभेच्छुकहरु अझ एक भइ अघि वढ्न सोसाइटीले आव्हान समेत गरेको छ ।

मानवीय कार्यक्षेत्रमा सरकारको सहयोगी भूमिका निर्वाह गर्न थप प्रतिवद्धता व्यक्त गर्दै आम जनता, सरकार, दाता, साझेदारलगायत सवै रेडक्रसकर्मी र सञ्चारकर्मीहरुबाट सदा झैँ सहयोगको अपेक्षा गरेको सोसाइटीद्वारा विज्ञप्तिमा उल्लेख छ ।