आर्सनल बराबरीमा रोकियो

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल बराबरीमा रोकिएको छ। आइतबार राति भएको खेलमा आर्सनल वाट्फोर्डसँग २-२ गोलको बराबरीमा रोकिएको हो।

वाट्फोर्डको मैदानमा भएको खेलमा अग्रता भने आर्सनलले लिएको थियो। आर्सनलले २ गोलको अग्रता जोगाउन नसक्दा अंक बाड्न बाध्य भएको हो । आर्सनलका पेरिक एम्रिक आबुमियाङ एक्लैले दुई गोल गरेका थिए। घरेलु टोलीका लागि टम क्लेभर्ली र रोबर्टो पेरेयाराले १-१ गोल गरे।

खेलको २१ औं मिनेटमा आबुमियाङले गोल गर्दै आर्सनललाई अग्रता दिलाए। ३२ औं मिनेटमा आबुमियाङले व्यक्तिगत दोस्रो गोल गर्दै आर्सनललाई पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा भने आर्सनलले अग्रता जोगाउन सकेन।

खेलको ५३ औं मिनेटमा क्लेभर्लीले गोल गर्दै खेल २-१ मा ल्याए। त्यस्तै खेलको ८१ औं मिनेटमा रोबर्टोले पेनाल्टीमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याउदै वाट्फोर्डलाई हारबाट जोगाएका हुन्। बराबरीसँगै आर्सनलले ५ खेलबाट ८ अंक जोड्दै लिगको सातौं स्थानमा छ । वाट्फोर्डको ५ खेलबाट २ अंक छ ।