रेडियो नेपालमा तालाबन्दी, महासंघका सचिवसहित ९ पत्रकार गिरफ्तार

काठमाडौं । रेडियो नेपाल प्रदेश प्रसारण कार्यालय दिपायलबाट निस्कासित पत्रकारको पुनरवहालीको माग गर्दै रेडियो नेपालमा तालाबन्दी गरिएको छ । रेडियो नेपालको मूल गेटमा तालाबन्दी गर्ने क्रममा प्रहरीले पत्रकार महासंघका सचिव रामप्रसाद दाहालसहित एक दर्जन बढी पत्रकारलाई गिरप्तार गरेको छ ।

गिरफ्तार हुने पत्रकारहरूमा महासंघका केन्द्रीय सदस्य मीन बम, जन्मदेव जैसी, यम बिरही, डोटी जिल्ला अध्यक्ष योगेन्द्र बलायर, नेपाल प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटी, दिलिप पौडेल, प्रकाश बम, चक्र कुवर छन् ।

लामो समयदेखि कार्यरत सुनिता रावल, प्रकाश बम र चक्र कुवरको पुनर्वहालीको माग गर्दै आन्दोलनरत संचारकर्मीले तालाबन्दी गरेका हुन् । नेपाल पत्रकार महासंघको नेतृत्वमा रेडियो नेपालको केन्द्रीय कार्यालयको मुल गेटमा तालाबन्दी गरिएको हो ।

महासंघका कार्यवहाक अध्यक्ष बिपुल पोखरेल नेतृत्वको समूहले पुनर्वहालीको लागि पटक-पटक माग गर्दासमेत रेडियो व्यवस्थापनले कुनै सुनुवाई नगरेपछि तालाबन्दी गरेको हो । पत्रकार निस्काशनको बिरोधमा दिपायल हुँदै निस्काशित संचारकर्मीसहित पत्रकार महासंघ डोटीका अध्यक्ष योगेन्द्र बलायर नेतृत्वको टोली आन्दोलन गर्न काठमाडौं पुगेको छ ।