ताजिकिस्तानसँग नेपाल ७-० ले पराजित

काठमाडौं । जोर्डनमा जारी एएफसी यू-१६ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले ताजिकिस्तानसँग लज्जास्पद हार व्यहोरेको छ । शुक्रबार भएको आफ्नो तेस्रो खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भएको हो ।

खेलको पहिलो हाफमा ४-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो । अपराजित ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । समान खेल खेलेको नेपालको दुई हार र एक बराबरीसँगै १ अंक छ ।

यसअघि पहिलो खेलमा जोर्डनसँग ७-० ले पराजित भएको नेपालले आफ्नो दोस्रो खेलमा कुवेतसँग १-१ को बराबरी खेलेको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ ।

प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छ ।