चितवनमा ज्ञानेन्द्र शाही आक्रमणमा परी घाइते

चितवन । सामाजिक सञ्जालमा विभिन्न अभियान चलाएर चर्चामा आएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । अज्ञात समूहले चितवनको चौबिसकोठी होटलबाट निस्कदै गर्दा उनी सवार बा ३ ख ४५ नम्बरको माइक्रोबसमा आक्रमण गरेको हो ।

आक्रमणबाट शाही घाइते भएका छन् । प्रहरीका अनुसार शाहीको टाउको, खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको छ ।

शाहीलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ । उक्त ठाउँमा सभा गर्न प्रहरीले नदिएपछि उनी फर्कन लागेका थिए ।

अज्ञात समूहले शाही सवार गाडीमा ढुंगा प्रहार गरेको थियो । केही दिनअघि नेपालगञ्जबाट आउने क्रममा पर्यटनमन्त्री योगेश भट्टराईका कारण जहाज ढिला गरेको भन्दै अभद्र व्यवहार गरेपछि उनको चर्को आलोचना हुँदै आएको छ ।