ईरफानलाई युथ आइकन अवार्ड

काठमाडौं । नेपाली युवा मोहम्मद ईरफानलाई नेशनल युथ आइकन अवार्ड–२०१९ प्रदान गरिएको छ । युवा उद्यम र सशक्तीकरणका क्षेत्रमा क्रियाशिल २७ बर्षीय ईरफानले समाज परिवर्तनमा भूमिका निर्वाह गरेको भन्दै भारतस्थित इन्टरनेशनल युथ कमिटीले नेशनल युथ आइकन अवार्ड–२०१९ बाट सम्मान गरेको हो ।

भारतको राजधानी नयाँदिल्लीस्थित कन्स्टिच्युसन क्लब अफ इन्डियामा शुक्रबार भएको विश्व युवा सम्मेलनमा इन्टरनेशनल युथ कमिटीका अध्यक्ष जयन्त पात्राले इरफानलाई सम्मानपत्र प्रदान गरे ।

यसअघि भारतीय युवाहरुलार्इ मात्र अवार्ड प्रदान गर्दै आएको इन्टरनेशनल युथ कमिटीले यो बर्षदेखि विदेशी नागरिकलाई पनि अवार्ड दिन थालेको हो ।

विभिन्न क्षेत्रका प्रवुद्धवर्ग, विश्वविद्यालयका प्राध्यापक, युवाहरुसँग मिलेर राष्ट्रिय नीति निर्माणमा सक्रिय इन्टरनेशनल युथ कमिटीबाट सम्मानित इरफानलाई गत महिना मालदिभ्स सरकारको युवा तथा खेलकुद मन्त्रालयले ग्लोबल युथ पिस एम्बास्डरको पदवी प्रदान गरेको थियो ।