सभामुखको राजीनामा अस्पस्ट रहेको कांग्रेसको आरोप

काठमाडौं । प्रमुख प्रतिपक्ष दल कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई पदबाट राजीनामा दिएको हो की, कसैलाई कार्यभार सुम्पेको हो ? भन्दै प्रश्न गरेको छ । कांग्रेसले महराले दिएको राजीनामा पत्रको भाषा स्पस्ट नभएको भन्दै प्रश्न उठाएको हो ।

आज पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता विश्वप्रकाश शर्माले प्रष्ट रूपमा राजीनामा दिनुपर्नेमा महराले विदेश जाने बेला कसैलाई कार्यभार सुम्पेजस्तो अस्पस्ट भाषा प्रयोग गरेको बताए । ‘सभामुखले राजीनामा दिएको कि विदेश जाने बेलामा दिएको जस्तो कार्यभार सुम्पेको?,’ शर्माले प्रश्न गरे, ‘राजीनामाको भाषा हेर्दा कार्यभार दिएको जस्तो देखिन्छ ।’

शर्माले नेतृत्व गम्भीर हुनुपर्ने र महराको राजीनामा प्रष्ट रूपमा आउनु पर्ने बताएका थिए । साथै कांग्रेसले महरामाथि कानुनबमोजिम छानबिन गरि कारबाही हुने पर्ने बताए ।

सभामुखको निर्वाचनका बेला कांग्रेसले उम्मेदार नउठाएर महरालाई समर्थन गरेको थियो नि भन्ने पत्रकारको प्रश्नमा शर्माले भने, ‘त्यसबेला परिस्थित अर्कै थियो । साझा सभामुख बनाउन उम्मेदारी दिएनौं तर अहिले उहाँले आफ्नो चरित्र प्रस्तुत गर्नुभयो ।’

संसद सचिवालयकी एक कर्मचारीलाई बलात्कार आरोप लागेपछि सभामुख महराले मंगलबार पदबाट राजीनामा दिएका थिए ।