जनताको मनमा जित्ने काम गर्नुस् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले काङ्ग्रेसबाट उम्मेदवार भई विजयी भएर स्थानीय तह सम्हालेका जनप्रतिनिधीलाई राम्रा काम गरेर जनताको मन जित्न निर्देशन दिएका छन् ।

मध्यपुरथिमिको बोडेमा आज कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कांग्रेसबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख, गाउँपालिकाका प्रमुख, उपप्रमुखका लागि आजबाट सुरु गरेको दुईदिने प्रशिक्षण कार्यक्रमको उद्घाटनमा उनले भने, “कम्युनिष्ट र काङ्ग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ, काँग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिष्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ ।”

जनताका पीर, मर्का र समस्याहरू बुझेर जनतासँगै समन्वय गरी प्रभावकारी ढङ्गले काम गर्न जनप्रतिनिधिलाई निर्देशन दिँदै उनले जनताको मन जित्ने गरी काम गर्न निर्देशन दिएका हुन् ।

कांग्रेस सांसद मोहम्मद अफताब आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षड्यन्त्र सुरु गरेको आरोप लगाउँदै उनले १२ वर्ष अघिको मुद्दालाई ब्यूझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाउँदै कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताए । पौडेलले काङ्ग्रेस विकल्पको रुपमा उदाउनुपर्नेमा जोड दिए ।