रेडक्रसको बार्षिक साधारणसभा सम्पन्न

बनेपा । नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय सभाको पहिलो वार्षिक साधारण सभा काभ्रेको बनेपामा सम्पन्न भएको छ । साधारण सभाले संस्थाको आर्थिक बर्ष २०७४÷७५ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको साथै आव २०७६÷७७ को लागि प्रस्तावित कार्यक्रम तथा बजेट पारित गरेको छ।

साधारण सभाले संस्थाको लागि उपयुक्त कानुनको व्यवस्थाको प्रभावकारी पहल गर्न केन्द्रीय कार्य समितिलाई निर्देश गरेको छ । साधारण सभाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ८३ करोडको बजेट पारित गरेको छ ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै रेडक्रसका अध्यक्ष संजीव थापाले छिट्टै महाधिबेशन सम्पन्न गरेर सोसाइटीको नयाँ नेतृत्व चयन गरिने बताए । अध्यक्ष थापाले नेपाल रेडक्रसको यो सभाले मानवता र सेवाको पक्षमा रेडक्रसकर्मीहरु उभिएको सन्देश दिएको उल्लेख गरे।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिका नेपाल प्रमुख आन्द्रे पाकेले कार्यक्रममा सम्बोधन गर्दै नेपालमा रेडक्रस कानुन बनाउन सके नेपालभित्र रहेको वृहत रेडक्रसको सञ्जाललाई काम गर्न सहयोग पुग्ने बिश्वास व्यक्त गरे।

अन्तर्राष्ट्रिय महासंंका नेपाल प्रमुख जुजा किमले युवा सहभागिता, आमसञ्चार, जेन्डर, आय आर्जन लगायतका संस्थागत तथा समुदायमा आधारित गतिविधिहरुमा नेरेसोलाई सहयोग गरिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा सोसाइटीका ७ वटै प्रदेश र ७४ जिल्ला शाखाबाट प्रतिनिधि र केन्द्रीय कार्यसमिति तथा मनोनित सभासदहरुको सहभागिता रहेको थियो।

नेपाल रेडक्रस सोसाइटीको प्रचलित विधानअनुसार प्रजातान्त्रिक विधिबाट संस्थाको केन्द्रीय तहको नेतृत्व चयन गर्न र वार्षिक कार्यक्रमहरु तय गर्न यस अघि धरानमा वैशाख २३–२५ गते बोलाइएको महाधिवेशन र २०७६ साउन २८ मा बोलाइएको वार्षिक साधारण सभा जिल्ला प्रशासन कार्यालय, काठमाडौँको निर्देशनबाट स्थगित भएपछि सर्वोच्च अदालतले संस्थाको पक्षमा भदौ २४ गतेको फैसलापछि वार्षिक सभा बोलाइएको हो ।