३२ वर्षे प्रावधान उल्लघंन गरे आमरण अनसन बस्ने नेविसंघका केही नेताको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को तदर्थ समिति गठन गर्दा विधानमा व्यवस्था भएको ३२ वर्षे उमेर हदलाई उल्लघंन नगर्न नेविसंघ आवद्ध विद्यार्थी नेताहरुले कडा चेतावनी दिएका छन् । रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरि नेविसंघभित्रका केही नेताहरुले विधान उल्लघंन भए पार्टी केन्द्रीय कार्यालय सानेपामा आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

नेविसंघको विधान २०२७ को सातौ संशोधन– २०७५ को भाग २, धारा ५ को उपधारा ५ मा आगामी १२ महाधिवेशनदेखि लागू हुने गरि ‘३२ वर्ष उमेर पूरा भएको व्यक्ति नेपाल विद्यार्थी संघको सदस्य हुन पाउने छैन’ उल्लेख छ । निवर्तमान केन्द्रीय समितिले सोही विधान बमोजिम विभिन्न १६ वटा जिल्लाहरुमा अधिवेशन सम्पन्न गरिसकेको छ । यसबाहेक अन्य ४० जिल्लामा जिल्ला अधिवेशनभन्दा तल्लो तहका सम्पूर्ण कमिटीहरु गठन भइसकेका छन् । बाँकी २१ जिल्लामा भने अधिवेशन हुन सकेको छैन ।

नेपाल विद्यार्थी संघको ११ औं महाँधिवेशन सम्पन्न गर्नु पूर्व पनि नेपाली कांग्रेसद्वारा गठित निर्देशन समितिले आउने महाधिवेशनबाट ३२ वर्षे उमेरको हदबन्दी कायम हुने प्रावधान तय गरेको थियो । सोही बमोजिम जिल्ला अधिवेशन सम्पन्न गर्न ७७ वटै जिल्लाहरुलाई निर्देशन दिइएको थियो ।
नेविसंघमा नैनसिंह महर नेतृत्वको निवर्तमान कमिटि विघटन भएपछि पार्टीले नयाँ तदर्थ समिति बनाउने तयारी गरिरहेको छ । तर पार्टी नेतृत्वले उक्त तदर्थ समितिमा ३२ वर्षभन्दा माथिकालाई नेतृत्व सुम्पन्ने तयारी गरेको छ । पार्टी नेतृत्वले विधान १२ औं मधाधिवेशनका क्रममा लागू हुने भएकाले तदर्थ समिति गठनका क्रममा उमेर हद लागू नगर्ने संकेत देखाएको छ । तर नेविसंघको एक पक्षले भने त्यसो गरे आमरण अनसन गर्ने चेतावनी दिएको हो ।

पत्रकार सम्मेलनमा नेविसंघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठीले ४९ वर्षको आफू प्रधानमन्त्री भएका कांग्रेस सभापति शेरवहादुर देउवाले सोही उमेरका व्यक्तिलाई नेविसंघको अध्यक्ष बनाउन खोज्नु लज्जास्पद भएको बताए । उनले विधान विपरित आउने नेतृत्वले नेविसंघको सधारण सदस्यता वितरण गर्ने नैतिक हैसियत गुमाउने जिकिर गरे । तर विधान तदर्थ समितिका हकमा भने लागू हुने देखिँदैन ।

‘कम्युनिष्ट सत्ताले सर्वसत्तावाद लागु ग¥यो भन्ने अनि आफ्नो दलभित्र विधि र विधानलाई उल्लघंन गर्दै सर्वसत्तावाद लागु गर्नु कदाचित मिल्दैन, यसका विरुद्ध हामी आमरण अनसनको हदसम्म जान तयार छौं’, त्रिपाठीले चेतावनी दिए ।

विधान पक्षधर नेताहरुद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘नेविसंघको विधि विधानमा व्यवस्था भएको ३२ वर्ष उमेर हद कार्यन्वन गरी नेविसंघ तदर्थ केन्द्रिय समिति गठन गर्न नेपाली काँग्रेस पार्टी नेतृत्व सामु बिनम्रतापूर्वक आग्रह गर्दछौं । अन्यथाः–नेपाल विद्यार्थी संघ
केन्द्रिय तदर्थ समिति गठन गरेकै दिन बिधान उल्लंघनको विरुद्ध नेपाली काँग्रेस केन्द्रिय पार्टी कार्यालय, सानेपामै आमरण अनशनको कार्यक्रम थाल्ने चेतावनी दिन चाहन्छौं ।’ पार्टीले भने तदर्थ समितिका हकमा नभएर १२ औं महाधिवेशनबाट आउने नेतृत्वका हकमा मात्रै विधान लागू हुने विधानको व्यवस्थालाई मान्ने संकेत देखाएको छ ।