तिहारअघि राजीव ढुंगाना नेविसंघको नेतृत्व लिँदै

काठमाडौं । करिब आठ महिनापछि नेपाल विद्यार्थी संघ (नेविसंघ)ले नेतृत्व पाउने निश्चित भएको छ । समयमै १२ औँ महाधिवेशन गरेर नयाँ नेतृत्व दिन नसकेको भन्दै पार्टीले असन्तुष्टि जनाएपछि गत माघ २८ मा ११ औँ महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महरले राजीनामा दिएका थिए ।

त्यसयता नेविसंघ नेतृत्वविहीन बनेको थियो । लामो समयसम्म पार्टीको महत्वपूर्ण संगठन नेतृत्वविहीन बनाइएको भन्दै पार्टीको आलोचना हुने गरेको थियो । पार्टी भने कुसलतापूर्वक नेविसंघको १२ औँ महाधिवेशन सम्पन्न गरेर नेतृत्व सुम्पन सक्ने नेतृत्वको खोजीमा लागेको पार्टी स्रोतको दावी छ ।

बिहीबार सम्मको पार्टीको औपचारिक र त्यसयताको अनौपचारिक छलफलपछि संघको अध्यक्षको जिम्मेवारी राजीव ढुंगानालाई सुम्पने पक्का भएको छ । पार्टीभित्र नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला पक्षले आ आफ्नो दावी गरे पनि पार्टी नेतृत्वले उनीहरुलाई एक एक जना महामन्त्री दिने गरि अध्यक्षमा भने ढुंगानालाई नै जिम्मेवारी दिने निर्णय भएको स्रोतको भनाइ छ ।

एक पक्षले संसोधित विधान बमोजिम ३२ वर्ष मुनिको नेतृत्व दिनुपर्ने दावीमा पार्टीले भने उक्त विधान १२ औँ महाधिवेशनपछि लागू हुने विधानमा स्पस्ट व्यवस्था भएकोले तदर्थ समितिका लागि विधान लागू नहुने उच्च स्रोतले स्पस्ट पारेको छ ।

‘नेतृत्व विहीन भएको नेविसंघलाई महाधिवेशन गरेर नयाँ नेतृत्व ल्याउनु छ’, स्रोत ले भन्यो, ‘त्यसका लागि परिपक्व, जिम्मेवार र अनुभवी नेतृत्वको खाँचो छ, पार्टीले संगठनकै सबलताका लागि ढुंगानालाई नेतृत्व दिने निर्णय गरेको हो ।’

पौडेल र सिटौला पक्षले महामन्त्रीका लागि नाम नदिएकाले तिहारअघि अध्यक्षलाई मात्रै पत्र दिने तयारी गरिएको स्रोतको भनाइ छ । ‘अन्य नेताहरुले महामन्त्रीको नाम दिने वित्तिकै तिहार लगत्तै अन्य पदाधिकारी पनि टुंगिन्छ’, काँग्रेस निकट स्रोतले भन्यो ।

ढुंगाना नेतृत्वको समितिले बढिमा एक वर्षभित्र महाधिवेशन गराएर नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्पने छ । पार्टी नेतृत्वको यो निर्णयमा पौडेल र सिटौलालगायत नेता सहमत भएकाले नेविसंघको आउँदो नेतृत्वलाई काम गर्न सहज हुने बताइएको छ ।

नेविसंघको नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका ऋषिकेशजंग शाह, पुष्पकुमार शाही, मनोजमणि आचार्य, प्रेम जोशी, अम्बिका चलाउनेलगायतलाई पार्टी संगठनका अन्य जिम्मेवारीमा लगिने बताइएको छ ।