तिहारमा झिलिमिलि पार्दा सावधान बनौं

काठमाडौं । तिहार भन्‍ने वित्तिकै सबैको मन दियो झै धपक्क बल्‍ने गर्छ । तिहार आफैमा फूल, रङ र उज्यालोको चाड हो । त्यसैले यसले सबैको मन र‌गीन र उज्यालो पार्नेगर्छ ।

झिलिमिलि बत्तीले उपत्यका लगायत, देशभरका विभिन्न सहरहरू  रंगी चंगी भएका छन् ।

तिहार हिन्दु नेपालीहरूको दसैं पछिको ठूलो पर्व हो । यसको आफ्नै धार्मिक मान्यता र जनविश्वास छ । आज लक्ष्मी पूजा । घर घरमा लक्ष्मीको पूजाआराधना गर्दै लक्ष्मी पूजा मनाइन्छ । घर उज्यालो भए लक्ष्मीको बास हुने जनविश्वास रहेकाले गर्दा तिहारमा मैनवत्ती, विभिन्न रङका बिजुली बत्तीहरू र दियो बालेर घर उज्यालो बनाइन्छ ।

पाँच दिनसम्म मनाइने तिहारमा झिलीमिली बत्तीकै कारण रौनकता थपिएको हुन्छ । तर, तिहारमा झिलिमिलि पार्दा सावधानी अपनाइएन भने विपद पनि आउन सक्छ । सावधानी नअपनाउँदा कतै बिजुली सर्ट भएर त कतै मैनवत्तिको आगोले आगलागी हुन सक्ने भएकाले विषेश ध्यान दिनुपर्छ ।

चाडपर्वमा रमाइलो पनि भरपुर नै गर्ने हो । तर, रमाइलोको नाममा सावधानी नै अपनाएन भने जोखिम पनि निम्तिन सक्छ ।

आज लक्ष्मीपूजा भएकाले यस दिन लक्ष्मीको रूपमा गाईको पूजा गरिन्छ । गाईले परापूर्वकालदेखि नै मानिसलाई धेरै गुण लगाएबापत यसलाई पुज्ने गरिन्छ ।

साँझ लक्ष्मीपूजा गरिन्छ । घरआँगन सफासुग्घर राखिन्छ । रातो माटो र गोबरले लिपपोत गरेर लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीलाई सम्पत्ति र सौभाग्यको प्रतीकका रूपमा लिइन्छ । यसै दिनदेखि भैलो खेल्न सुरु गरिन्छ । झ्यालढोकामा सयपत्रीको माला लगाएर घर सजिसजाउ पारे लक्ष्मी आउँछिन् भन्ने मान्यता छ । आजका दिनबाट झिलिमिलि निकै पारिने भएकाले पनि सजकता अपनाउनु पर्ने प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार मानिसको सानो सावधानीले पनि ठूलो दुर्घटनाबाट जोगिन सकिन्छ । चाडवाडमा हामीले थुप्रै आगलागीका घटना सुन्‍ने गरेका छौं । त्यसले प्रहरीले चाडवाडमा सावधानी अपनाउन र कतै कुनै घटना घटिहाले नजिकैको प्रहरी कार्यालय वा १०० मा कल गरेर तुरुन्त जानकारी गराउन आग्रह गरेको छ ।

सुरक्षा आफ्नै लागि भएकाले सजक बन्दै केही घटना घटिहालेमा पनि तुरुन्तै प्रहरीलाई खबर गर्नुपर्छ ।