पूर्व सभामुख महरा डिल्लीबजार कारागार चलान

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्व सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

बलात्कारको आरोप लागेका महराको विषयमा अदालतमा आज थुनछेक बहस गरिएको थियो । थुनछेक बहस सकिलगत्तै उनलाई डिल्लीबजार कारागार चलान गर्न अदालतले आदेश दिएको हो ।

मुलुकी फौजदारी संहिताको दफा ८० बमोजिम महरालाई जेल चलानको आदेश भएको हो । न्यायाधीश सुदर्शनराज पाण्डेको इजलाशले यस्तो आदेश दिएको हो ।

महराविरुद्ध गत बिहीवार जबर्जस्ती करणी उद्योगमा मुद्दा दायर भएको थियो।

महरामाथि गत असोज १२ गते संसद् सचिवालयमा कार्यरत एक महिला कर्मचारीमाथि बलात्कार प्रयासको आरोप छ । महिलाले प्रहरीमा किटानी जाहेरी दिएपछि असोज १९ गते अदालतको अनुमतिले प्रहरीले महरालाई सभामुख निवास बालुवाटारबाट पक्राउ गरेको थियो ।