डिल्ली बजार कारागारमा छन् यी हाइ प्रोफाइल कैदी

काठमाडौं । डिल्ली बजार कारागारमा थुप्रै भिआइपी कैदीहरू छन् । कारागारमा पूर्व सभामुख कृष्णबहादुर महरादेखि सांसद रेशम चौधरीसम्म छन् ।

नेपाल प्रहरीका पूर्वआइजीपी रमेशचन्द ठकुरी, तत्कालीन किस्ट बैंकका सिइओ कमल ज्ञवाली, सशस्त्र प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआइजी) रञ्जन कोइराला, पूर्व सासंद डीबी कार्कीसमेत डिल्लीजार कारागारमै छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख महरालाई पुर्पक्षका लागि डिल्लीबजार कारागार पठाएसँगै उक्त कारागारमा थप भिआइपी कैदीको संख्या थपिएको छ ।

महरामाथि संसद् सचिवालयकी महिला कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयास गरेको अभियोग लागेपछि प्रहरीले १९ असोजमा पक्राउ गरेको थियो ।

यसअघि डिल्लीबजार कारागारमा पूर्वगृहमन्त्री खुमबहादुर खड्कालाई पनि राखिएको थियो ।

राजपा सांसद चौधरी टीकापुर हत्याकाण्ड अभियोगमा पुर्पक्षका लागि जेल चलान भएका छन् ।

२०७२ भदौ ७ गते टीकापुरमा भएको घटनामा ७ जना प्रहरी अधिकारी र एक जना बालकसहित ८ जनाको ज्यान गएको थियो । सो घटनामा संलग्न भएको भन्दै चौधरीविरूद्ध कैलाली जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

युक्त राष्ट्र संघअन्तर्गत सुडानको डार्फरमा तैनाथ नेपाल प्रहरीका लागि खरिद गरिएको बन्दोबस्तीका सामान (एपीसी) खरिद प्रकरणमा अनियमितता गरेको अभियोगमा दोषी ठहर भइ पूर्वप्रहरी महानिरीक्षक रमेशचन्द ठकुरी कारागार चलान भएका छन् ।

सशस्त्र प्रहरीका प्रहरी नायब महानिरीक्षक (डिआइजी) रञ्जन कोइराला पत्नी हत्याको अभियोगमा कारावास भोगिरहेका छन् ।

कमल ज्ञवली तत्कालीन किस्ट बैंकबाट जम्को प्रकाशन प्रालिलाई गैरकानुनी रूपमा ऋण दिई बैंकलाई हानिनोक्सानी पुर्‍याएको अभियोगमा जेल जीवन विताइरहेका छन् ।