आफ्नै भूमि मिचिदा नबोल्ने दुई तिहाइको कम्युनिस्ट सरकार लाचार : एनपी साउँद

काठमाडौं । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्फियाधुरा भारतले जारी गरेको नयाँ नक्सामा समेटिएको प्रति नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउँदले आपत्ति जनाएका छन् । ३७२ वर्ग किलोमिटर अतिक्रमित नेपाली भूभागलाई औपचारिक रूपमा आफ्नो नक्साभित्र पारेर भारतले आफ्नो हेपाहा प्रवृति देखाएको भन्दै नेता साउँदले आपत्ति जनाएका हुन् ।

भारतले आफ्नो नयाँ राजनीतिक नक्सा सार्वजनिक गरेको चार दिन वितिसक्दासमेत ओली नेतृत्वको दुई तिहाइ कम्युनिस्ट सरकार प्रतिक्रिया बिहीन बनेको भन्दै उनले आक्रोश समेत पोखे ।

‘भारतको यो हेपाहा प्रवृति विरुद्ध यो दुई तिहाइको कम्युनिस्ट सरकार लाचारी बन्यो,’ उनले भने, ‘आफ्नै भूमि मिचिदा समेत बोल्न नसक्ने सरकारलाई कसरी विश्वास गर्छन् जनताले ?’

नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई सन् १९६२ देखि सैनिक अतिक्रमण गरेर कब्जा गर्दै आएको छ । यसबीच, काश्मीर र लद्दाखको नयाँ अवस्थितिलाई चित्रित गर्ने क्रममा जारी गरेको नयाँ नक्सामा भारतले औपचारिक रूपमै उक्त अतिक्रमित नेपाली भूमिलाई समेत आफ्नो भूमिका रूपमा चित्रित गर्दै नक्साभित्र राखेको छ ।