सुदूरपश्चिमका मुख्यमन्त्रीले भने : नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन

भारतको बिरोधमा प्रदेशभर प्रदर्शन

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको नहुने जिकिर गरेका छन् ।

धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सङ्गठन र अनेरास्ववियुले भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकाले नक्शा सच्याउनका निम्ति पहल गरिनुपर्ने माग गरे । ज्ञापनपत्र बुझ्दै मृख्यमन्त्री भट्टले नक्सामा राख्दैमा नेपाली भूमि नगुम्ने आश्वासन दिए ।

मुख्यमन्त्री भट्टले कुनै पनि सार्वभौम देशको भूमिलाई भारतले आफ्नो नक्सामा राखेर गलत गरेको बताए । उनले सुदूरपश्चिम प्रदेशकै भूगोल भारतीय नक्सामा देखिएकाले उक्त विषयलाई टुङ्गोमा पु¥याउनका लागि आफूहरुले सङ्घीय सरकारसँग आग्रह गरिरहेको जानकारी दिए ।

युवा र विद्यार्थी सङ्गठनले स्वतन्त्र र सार्वभौम देश नेपाललाई निरन्तर हेप्ने, राष्ट्रियतामाथि खेलवाड गर्ने कार्य भारतबाट हुँदै आएकाले सरकार गम्भीर हुनुपर्ने माग राखेका छन् ।

प्रदेशभर प्रदर्शन

भारतले नयाँ सार्वजनिक गरेको भनिएको नक्शामा कालापानी अतिक्रमण गरिएको भन्दै सुदूरपश्चिमको कैलाली, कञ्चनपुर, बैतडी, अछामलगायतका जिल्लामा युवा तथा स्थानीय नागरिकले बिरोध गरेका छन् । बैतडी र कञ्चनपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्लादहन गरिएको छ ।