बंगलादेशी राष्ट्रपति हमिदको भ्रमणले दुबै देशको सम्बन्ध थप उचाइमा पुगोस्

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा आज बंगलादेशका राष्ट्रपति अब्दुल हमिद नेपाल पुगेका छन् । उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेर नेपाली समकक्षी विद्यादेवी भण्डारीले स्वागत गरिन् ।

बंगलादेशी राष्ट्रपति स्तरबाट नेपालमा गरिएको तीन दशकपछिको भ्रमण हो । यस भ्रमणबाट नेपाल र बंगलादेशबीचको सम्बन्धले थप उचाइ पाउने विश्वास गरिएको छ ।

बंलादेशी राष्ट्रपति हमिदको भ्रमणबाट दुई देशबीचको व्यापारिक सम्बन्ध थप मजवुद हुने विश्‍वास लिइएको छ ।

उनको भ्रमणका क्रममा नेपाल र बंगलादेशबीको द्विपक्षीय व्यापारको चुनौती र अवसरका विषयमा छलफल हुने बताइएको छ । पछिल्ला वर्ष नेपाल र बंगलादेशबीचको व्यापार तथा आर्थिक सम्बन्ध झांगिएको छ । दुवै पक्षले एकअर्कासँगको व्यापार अझ बढाउनुपर्नेमा जोड पनि दिँदै आएका छन् ।

सन् १९९७ मा काँकरभिट्टा–फुलबारी–बंगलाबन्ध नाका खुलेसँगै बंगलादेशले नेपाललाई मोङ्ग्लास्थित बन्दरगाह प्रयोग गर्ने अधिकार पनि दिँदै आएको छ ।

बंगलादेशले नेपाललाई रोहोनपुर–सिघबाद रेल ट्रान्जिट करिडोर प्रयोग गर्न पनि दिएको छ । जसले नेपाललाई बंगलादेशसँगको व्यापारिक मजबुद बनाउन सहयोग गर्दै आएको छ ।

नेपालले बंगलादेशमा विषेशगरी पहेँलो दाल, सुकमेल, अलैंची, गहुँ, पश्मिना, ह्यान्डिक्र्याफ्टका सामान बंगलादेशमा निर्यात गर्दै आएको छ ।

केही वर्षअघिसम्म बंगलादेशसँग नेपालको निर्यात व्यापार बढी थियो । तर, पछिल्ला वर्ष बंगलादेशले नेपालमा आफ्ना सामान बढी निर्यात गरिरहेको छ ।

व्यापारमा मात्र नभएर पर्यटनमा पनि बंगलादेशले नेपाललाई ठूलै सहयोग पुर्‍याएको छ । नेपालमा वर्षेनी थुप्रै बंगलादेशी नागरिक घुम्न आउने गरेका छन् ।

बंगलादेशको सरकारी वायुसेवा निगम विमान बंगलादेशका साथै विभिन्न निजी कम्पनीहरुले पनि दुई देशबीच निरन्तर उडान भर्दै आएका छन् । यसले पर्यटन प्रवद्र्धनमा उल्लेखनिय टेवा पुर्‍याएको छ । नेपाल र बंगलादेश थुप्रै कुरामा समानता भएका राष्ट्रमा पर्छन् । यी दुबै देशका जनताको आर्थिक अवस्था पनि लगभग उस्तै उस्तै छ । दुबै देशबीचको सुमधुर सम्बन्ध निरन्त अगाडि बढाउन सके दुवै देशलाई फाइदा पुग्ने छ ।