भारतद्वारा नेपाललाई ३ अर्ब सहुलियत ऋण प्रदान

काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणका लागि भारत सरकारले नेपाल सरकारलाई ३ अर्ब १० करोड सहुलियत ऋण प्रदान गरेको छ । भारत सरकारको तर्फबाट भारतीय निर्यात–आयात बैंक (एक्जिम) ले बुधबार नुवाकोट र गोर्खा जिल्लामा आवास निर्माणका लागि भारत सरकारले प्रदान गरेको तेस्रो किस्ताको शोधभर्नाका लागि सहुलियत क्रण व्यवस्थामार्फत उक्त रकम प्रदान गरेको हो ।

नेपालको नुवाकोट तथा गोर्खा जिल्लाका ५० हजार निजी घर पुनःर्निर्माणका लागि एक्जिम बैंकले क्रण व्यवस्थामार्फत ५० मिलियन अमेरीकी डलर उपलब्ध गराउने वाचा गरेको थियो । यसका अतिरिक्त भारतले यी घरहरुको निर्माणका लागि अनुदान स्वरुप १०० मिलियन अमेरीकी डलर उपलब्ध गराउने प्रतिबद्घता गरेको थियो ।

भारतले हालसम्म पहिलो र दोस्रो किस्ता गरी ६ अर्ब ९६ करोड उपलब्ध गराइसकेको काठमाडौंस्थित भारतीय दूतावसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । घरधनीहरुलाई नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुरुप भूकम्पप्रतिरोधी घर निर्माण गर्न प्रोत्साहन गर्नका लागि भारत सरकारले सामाजिक–प्राविधिक सहजीकरणको सुविधा प्रदानगर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ ।